कोरोनाविरुद्धको जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट थप २ अर्बभन्दा बढी ऋण सहायता लिने सरकारको निर्णय
काठमाडौं, ७ फागुन । सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए ।
उनले औषधि दर्ता चौथो संसोधन नियमावली पनि स्वीकृत गर्ने निर्णय सरकारले गरेको बताए ।
सरकारले ग्लोवल फण्डको एड्स, क्षयरोग र मलेरिया रोग रोकथाम तथा नियन्त्रणका लागि सन् २०२१ देखि २०२४ को कार्यक्रम कार्यान्वयनका लागि जनसंख्या मन्त्रालयका सचिवलाई सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने पनि निर्णय गरेको छ ।
सरकारले काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित गोविन्द मगरले पंक्षी पालेको स्थान र चितवन जिल्लाको राप्ती नगरपालिका ६ स्थित अनिता पशुपंक्षी कृषि फार्मलाई केन्द्र मानि उल्लेखित स्थानको वरपरको सय मिटरसम्मको क्षेत्रमा पंक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट ४२ दिनसम्मको अवधिसम्मका लागि बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय गरेको छ ।