स्वास्थ्यका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा. कृष्णप्रसाद पौडेल
काठमाडौं,४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आधा दर्जनभन्दा बढी उच्च अधिकारीहरुको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मन्त्रीस्तरीय निर्णय गरी जिम्मेवारी हेरफेर गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा. कृष्णप्रसाद पौडेललाई ल्याएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. पौडेललाई महाशाखामा सरुवा गरेको हो। आफूले सरुवाको पत्र बुझिसकेको डा. पौडेलले बताएका छन्।
यसअघि डा. पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक थिए। डा. पौडेलको ठाउँमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलाई ल्याइएको छ। कोशी अस्पतालमा भने सोही अस्पतालका चिकित्सक डा. यज्ञ खरेललाई मेसुको जिम्मेवारी दिइएको छ।
केन्द्रीय कारागार अस्पतालमा क्षयरोग केन्द्रबाट एक महिनाअघि मात्रै कर्णाली प्रदेश सरुवा गरिएका डा. प्रकाश शाहलाई पठाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रमा राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका डा. सन्जयकुमार ठाकुरलाई लगिएको छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा कीटजन्य रोग अनुसन्धान केन्द्र हेटौडाका डा. यदुचन्द्र घिमिरेलाई ल्याइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उनको ठाउँमा तालिम केन्द्रका प्रमुख केशवराज पण्डितलाई पठाइएको छ । देशको एकमात्र केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा. युवानिधी बसौलालाई दिइएको छ । कान्तिका निर्देशक डा. अजित रायामाझी थिए ।