सिरहामा निःशुल्क परिवार नियोजन शिविरमा ५८१ जनाले लिए सेवा
सिरहा, ४ फागुन । सन्तानको रहर पुगेका दम्पतिको लागि सिरहामा सञ्चालित निःशुल्क परिवार नियोजन (बन्ध्याकरण) शिविरमा पाँच सय ८१ जना महिलाले सेवा लिएका छन् । सिरहाको भलुवाही, औरही गापा, भगवानपुर गापा, धनथढीमाई नपा, गोलबजार नपा, मिर्चैया नपा र कर्जन्हा नपा सहित ६ ठाउँमा आयोजित निःशुल्क बन्ध्याकरण शिविरमा पाँच सय ८१ जना महिलाको मिनिल्याप सेवा लिएका हुन् ।
जिल्लाको भलुवाहीमा ९४, औरही गापामा ५१ , भगवानपुर गापामा एक सय ३, धनथढीमाई नपामा ८६, गोलबजार नपामा ८६, मिर्चैया नपामा एक सय १२ र कर्जन्हा नपामा ४८ जना गरि ५ सय ८१ महिलाको मिनिल्याप गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका भेक्टर कन्ट्रोलर अधिकृत अन्देश्वर प्रसाद चौधरीले जानकारी दिए ।
सो बन्ध्याकरण शिविरमा कुनै पनि पुरुषले सेवा नलिएको बुझिएको छ । शिविरमा पुरुषले सेवा नलिएकोबारे अधिकृत चौधरीसंग बुझ्दा ‘सामाजिक रीतिरिवाज र सहि काउान्सिलिङ नहुँदा पुरुषहरुले बन्ध्याकरण नगराएको हुन सक्ने बताए ।
उनले गत वर्ष पनि ७ सय २३ जनाको बन्ध्याकरण हुँदा एक जना पनि पुरुषले सेवा नलिएको बताए । उनका अनुसार सिरहामा पछिल्लो तीन वर्षमा एक जना पुरुषले पनि बन्ध्याकरण गरेका छैनन् ।