भारतीय सीमासँग जोडिएको राप्तीपारिका बासिन्दालाई गाउँमै कोरोनाविरुद्धको खोप
राँझा,१ फागुन । भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप सेवा उपलब्ध गराइएको छ ।
राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए ।
उनका अनुसार राप्ती सोनारी–४ स्थित सामुदायिक स्वास्थ्य एकाइ गुर्दनगौडीमा पुगेर सीमा क्षेत्रका वासिन्दालाई खोप सेवा प्रदान गरिएको हो । सो क्रममा ३० जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्थानीयवासीलाई सामान्य खालका औषधि निःशुल्क वितरण गरिएको थियो। कोरोनाविरुद्धको खोप लगाउन केही विद्यार्थी र स्थानीय बासिन्दा पनि छुटेकाले अर्को हप्ता पुनः उक्त सेवा दिइने उनले जानकारी दिए ।
भारतसँग सीमा जोडिएका पहाडी इलाकामा छरिएको वस्ती भएकाले नयाँगाउँमा असुरक्षा र असुविधा रहेको राप्तीसोनारी –४ का वडाध्यक्ष कान्छा थारूले जानकारी दिए । उनले नयाँगाउँका वडा नं १ र कतिपय नरैनापुर गाउँपालिकाका समेत बासिन्दा रहेको उल्लेख गर्दै सबै वडा नं ४ का नागरिक नभएको जानकारी दिए ।
बाँकेको अतिविकट मानिने नयाँगाउँ क्षेत्रमा झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासालगायतका गाउँ छन् । त्यहाँको पछिल्लो तथ्याङ्कानुसार १७० घरधुरीको बसोबास छ।
रासस