सेती अस्पतालमा महिलालाई शल्यक्रिया सेवा पाउनै सास्ती
धनगढी,२४ माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरीयाकी सुरीता चौधरी आफ्नी आमाको पाठेघरको शल्यक्रियाका लागि सेती अस्पताल धाउन थालेको ३ महिना भयो । तर ३ महिनादेखि अस्पताको शल्यक्रिया कक्षामा उनकी ५३ वर्षीया आमा अहिया चौधरीले प्रवेश पाएकी छैनन् । मंसिरदेखि शल्यक्रियाका लागि धइरहेको उनी बताउँछिन् ।
यहि माघ १६ गते अस्पताल आएका उनीहरु ५ दिन बसेर शल्यक्रिया नहुँदै बिहीवार घर फर्किएका छन् । अस्पताले कोरोनाको कारण देखाउँदै तथा चिकित्सक नभएको भन्दै घर पठाएको सुरीता चौधरीले बताइन् । उनले भनिन्, ‘मंसिरदेखि आइरहेका छौँ । कहिले कोरोना भन्छन्, कहिले डाक्टर छैनन् भन्छन् । अहिलेसम्म त्यतिक्कै आसै आसमै राखेको छ । अरु ठाउँ जान खर्च धेरै लाग्छ भनेर जान सकिरहेका छैनौँ।’
डडेल्धुराको आलितालकी पावर्ती कुँवर पनि बुहारीलाई ल्याएर सेती अस्पताल आएकी ३ दिन भयो । तर उनले शय्या पाइनन्। प्रसूति वार्डमा शय्या अभाव भएपछि उनले भर्ना समेत नपाएकी हुन् । सेती अस्पतालको प्रसूति वार्डमा सेवा पाउनै मुस्किल भएको उनले बताइन् । ‘३ दिन जति यहाँ बस्यौँ। यहाँको व्यवस्थापन राम्रो छैन । बिरामीलाई फटाफट नहेरेर अल्झाइराख्छन्’ उनले भनिन् ।
सेती प्रादेशिक अस्पतालमा एक मात्र शल्यक्रिया कक्ष छ । एकै कक्षबाट सबै बिरामीको शल्यक्रिया गर्नुपर्ने भएकाले पाठेघरको समस्या भएका बिरामीलाई सास्ती हुने गरेको छ । प्रसूति वार्डमा चिकित्सक लगायतको जनशक्ति अभाव रहेकाले समेत ढिलोगरी मात्र पाठेघरको शल्यक्रिया हुँदै आएको अस्पतालले जनाएको छ ।
जनरल शल्यक्रिया कक्षमा ४ र गाइनेमा २ वटा मात्रै बेड रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताउँछन् । ‘अभावका कारण समस्या भइरहेको हो । अब त्यसका लागि १५ बेडको योजना बनाएर प्रस्ताव बजेटका लागि परिवार कल्याण महाशाखा संघीय मन्त्रालयलाई पठाएका छौं, आयो भने बन्छ’ उनले भने ।
सेती प्रादेशिक अस्पतालमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिँदै आएका छन् । उनीहरुमध्ये १० जनाको शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने हुन्छ । तर अस्पतालमा शल्यक्रिया कक्ष एउटै भएकाले अन्य पाठेघरको समस्या भएका महिलाहरुले सास्ती पाउने गरेका छन् ।