कोरोनाका कारण समयमै उपचार नपाउँदा क्यान्सरका गम्भीर बिरामी बढे
काठमाडौं, २१ माघ । कोरोना महामारीका कारण समयमै चिकित्सकको सम्पर्कमा नपुग्दा क्यान्सरका बिरामीहरू मर्कामा परेका छन्। समयमै उपचार नगर्दा पछिल्लो समय तेस्रो र चौथों स्टेजमा पुग्ने क्यान्सर बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका क्यान्सर रोग उपचार विभागका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेश आचार्यले कोरोना महामारीका कारण उपचार गराइरहेका बिरामीहरू मर्कामा परेको बताए।
‘कोरोनाको समयमा क्यान्सरका धेरै बिरामीले समयमानै उपचार पाएनन, जसले गर्दा ३/४ स्टेजमा मात्रै बिरामीहरु उपचारमा आए,’ डा. आचार्यले भने‚ ‘समयमानै उपचार गरे पूर्ण निको हुने खालका बिरामीहरु समेत यस्तो अवस्थामा आएका छन्।’
महामारीका समयमा नियमित उपचार गरिरहेका बिरामीहरु संक्रमणको डरले जचाउन नआएको डा. आचार्यको भनाइ छ। बीचमा उपचार छाडेका कारण पूर्ण निको हुने बिरामीहरु समेत जटिल अवस्थामा पुगेको उनले बताए।
उनले भने‚ ‘कोरोनालाई फन्टलाइनमा राखेर उचार गर्दा क्यान्सरजस्तो जटिल प्रकारको रोगको उपचार गराइरहेका बिरामीहरुले राम्रोसँग उपचार पाउन सकेनन्।’
कोरोना महामारीको समयमा क्यान्सरका बिरामीहरूले दोहोरो जोखिमको सामना गर्नु परेको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन्।
‘कोरोना पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने संक्रमण हो। क्यान्सरले पनि बिरामीको रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ। यस्ता बिरामीले समयमानै उपचार पाएनन् भने जटिल अवस्था भोग्नु पर्ने हुन्छ,’ उनले भने‚ ‘जसले गर्दा यो समयमा धेरै बिरामीहरु जटिल अवस्थामा पुग्नु परेको अवस्था छ’डा बरालले भने।
डा. बरालका अनुसार कोरोना महामारीको समयमा क्यान्सरको बिरामीले समयमा उपचार नपाएको र उनीहरूलाई चाहिने औषधि पनि सहज तरिकाले नपाउँदा धेरैले ज्यान गुमाउनु परेको समेत बताए।
‘पहिलो र दोस्रो लहरको लकडाउन तथा निषेधाज्ञा हुँदा धेरै बिरामीले उचार र औषधि पाएनन्‚’ उनले भने‚ ‘यसले गर्दा यो समयमा क्यान्सरका बिरामीको मृत्युको दर बढेको देखिन्छ।’
फोक्सोका क्यान्सर धेरै
डा. बरालका अनुसार नेपालमा फोक्सोको क्यान्सरका बिरामी धेरै छन्। ‘हालसम्म हाम्रो धेरै फोक्सोका क्यान्सरका बिरामी छन्‚’ उनले भने‚ ‘त्यसपछि पाठेघरको मुखको क्यान्सरका बिरामी छन्।’
पछिल्लो समयमा नेपालमा युवतीहरूमा क्यान्सर देखिने संख्या बढ्दै गएको उनले बताए। नेपालमा बर्सेनि करिब २९ हजार क्यान्सरका नयाँ बिरामी थपिने डा. बराले बताए।