के हो ओमिक्रोन बीए.टु भेरिएन्ट ?



Download our app to get more features

ऐजेन्सी,२० माघ । अहिले एशिया र युरोपका धेरै देशहरूले बीए.टुका सङ्क्रमण बढिरहेको बताइरहेका छन् । डब्ल्यूएचओका अनुसार उक्त सबभेरिएन्ट  फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा प्रभावशाली बनिसकेको छ।

के हो ओमिक्रोन बीए.टु ?

भाइरसहरू उत्परिवर्तन भइरहँदा उनीहरू बेलाबेलामा विभिन्न उपसमूहमा टुक्रिन्छन् ।

ओमिक्रोनको हकमा पनि त्यस्तै भएको छ र यसको उपसमूहमा बीए.वान, बीए.टु, बीए.थ्री र बी.वान.वान.फाइभटुनाइन देखा परेका छन् । बीए.वानका कारण अहिलेका अधिकांश सङ्क्रमण भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वव्यापी जीआईएसएड तथ्याङ्क भण्डारमा जनावरी २५, २०२२ सम्म उपलब्ध गराइएका भाइरल डीएनएमध्ये करिब ९९ प्रतिशतमा यो सबभेरिएन्ट देखिएको उल्लेख गरेको छ।

सबैभन्दा पहिले कहाँ बीए.टु देखियो प्रस्ट छैन तर सबैभन्दा सुरुमा गएको नोभेम्बरमा अपलोड गरिएको सिक्वेन्सीङको फिलिपिन्सबाट प्राप्त तथ्याङ्क भण्डारमा यो पाइएको थियो।

बीए.टु कहाँ फैलिरहेको छ ?

नोभेम्बरयता ४० वटा देशले आफ्नो तथ्याङ्कमा हजारौँ बीए.टु पुष्टि गरेका छन् । कतिपय ठाउँमा उक्त सबभेरिअन्टको वृद्धि उच्च छ।

डेनमार्कको स्टाटेन सीरम इन्स्टिच्युटका अनुसार त्यहाँको आधा नयाँ कोभिड सङ्क्रमण बीए.टुका कारण भएको छ।

मोलिक्युलर बायोलोजिस्ट विजय ढकालका अनुसार भारतमा द्रुत गतिमा बीए.टुले डेल्टा र ओमिक्रोन बीए.वान भेरिअन्टलाई प्रतिस्थापन गरिरहेको छ।

कैयौँ प्रदेशहरूमा त्यो मूल भेरिएन्ट बनिसकेको छ र हालैको तेस्रो लहरलाई उक्त भेरिएन्टले नै डोर्‍याएको ठानिन्छ।

फिलिपिन्सको डिपार्टमेन्ट अफ हेल्थले बीए.टुको प्रकार जनावरीको अन्त्यमा आफूले प्राप्त गरेका नमुनामा देखा परिसकेको जनाएको छ।

र ब्रिटेनमा एक हजारभन्दा बडी बीए.टु सङ्क्रमणका घटना पहिचान भएको यूके हेल्थ सेक्युरिटि एजेन्सीले जनाएको छ।

ब्रिटेनका स्वास्थ्य निकायहरूले बीए.टुलाई 'अनुसन्धानको चरणमा रहेको'भेरिएन्ट रूपमा सूचीकृत गरेका छन्।

के बीए.टु थप सङ्क्रामक छ ?

डेनमार्कको एसएसआईले ८,५०० घरधुरी र १८,००० व्यक्तिहरूमा गरेको अध्ययनले बीए.वानभन्दा बीए.टु उल्लेख्य रूपमा बढी सङ्क्रामक रहेको पाएको थियो।

उक्त भेरिएन्ट खोप लगाएका र अघिल्ला भेरिएन्टका कारण प्रतिरोधी क्षमता हासिल गरेका व्यक्तिहरूलाई सङ्क्रमण गराउन सफल देखिएको अध्ययनले जनाएको छ।

तर खोप लगाएका व्यक्तिले त्यसलाई सार्ने सम्भावना कम रहेको भनिएको छ।

यूकेमा गरिएको अलग्गै अध्ययनले पनि बीए.टु सर्ने दर बीए.वानभन्दा उच्च रहेको देखाएको थियो।

तर एउटा प्रारम्भिक मूल्याङ्कनले लक्षण सहितको बिरामी निम्त्याउने दुवै सबभेरिएन्टविरुद्ध खोप कम प्रभावकारी हुने कुनै पनि प्रमाण फेला नपरेको जनाएको छ।

Last modified on 2022-02-03 16:04:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts