एक सातामै झन्डै १२ प्रतिशतले घट्यो कोरोना सङ्क्रमणको दर, तर जोखिम भने कायमै
काठमाडौं, २० माघ । नेपालमा यो सातामा औसत सङ्क्रमण दरमा ११ प्रतिशतले कमी आएको छ । सरकारले सार्वजनिक गर्ने कोरोना सम्बन्धी तथ्याङ्क अनुसार यो साता कोरोना सङ्क्रमणको दर ११ दशमलव ८ प्रतिशतले घटेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साता सङ्क्रमणदर ४७ प्रतिशत रहेकोमा यो साता ११ दशमलव ८ प्रतिशतले सङ्क्रमणदर घटेको हो ।
मन्त्रालयका प्रवक्ता डा.सङ्गिता कौशल मिश्रले गत साता १ लाख २० हजार २ सय ९९ आरटी पिसिआर परीक्षणमा ५९ हजार ६ सय ६५ कोरोना सङ्क्रमण पुष्टि भएको र यो साता ८४ हजार २ सय ३१ आरटी पिसिआर परीक्षणमा २९ हजार ६ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइन् ।
उनले हाल नेपालमा आरटी पिसिआर विधिबाट सङ्क्रमण पुष्टि हुनेदर ३५ दशमलव २ प्रतिशत रहेको र यो गत साताको तुलनामा १४ दशमलव ३ प्रतिशतले घटेको पनि बताइन् ।
यस्तै गत साता ३८ हजार ४ सय ३३ एन्टिजेन कोरोना परीक्षण गर्दा १३ हजार ७ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने यो साता गरिएको कुल ३९ हजार २ सय ७४ एन्टिजेन गरिएको परीक्षणमा १२ हजार ९ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जुन ३२ दशमलव ९ प्रतिशत हो र यो गत साताको तुलनामा २ दशमलव ९ प्रतिशतले घटेको छ ।
प्रवक्ता डा.मिश्रले पछिल्लो समय कोरोना परीक्षण गराउनेको सङ्ख्या घटेसँगै सङ्क्रमण पुष्टि हुनेदरमा पनि कमी आएको बताइन् ।
विज्ञहरूका अनुसार नेपालमा सङ्क्रमणदर घट्नुको प्रमुख कारणमध्ये एक भारतमा सङ्क्रमणदर घट्नु हो । भारतमा कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपालमा पनि सङ्क्रमणदर बढ्ने पछिल्लो दुई चरणको लहरले देखाएकाले नेपालमा सङ्क्रमणदर घट्न थालेको बुझ्न सकिने जानकारहरू बताउँछन् ।
नेपालमा पछिल्लो समय दैनिक सङ्क्रमण दर ५ हजारभन्दा तल झरेको छ । सरकारले माघको दोस्रो सातासम्म नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १५ हजार नाघ्ने आँकलन गरेको थियो । तर, १२ हजारमा सङ्क्रमण सिमित भयो । जुन राहतको विषय हो ।
हालसम्मको अवस्थालाई हेर्ने हो भने सरकारले प्रक्षेपण गरे अनुसार कोरोना सङ्क्रमण पुष्टि नभएपनि दोस्रो लहरले ठूलो जनको क्षति गरायो भने तेस्रो लहरमा सङ्क्रमणदर उच्च बिन्दुमा पुग्यो ।
सरकारले कोरोना सङ्क्रमणको दरमा कमी आएपनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गर्दै आएको छ ।
प्रवक्ता डा.मिश्रले सङ्क्रमण दरमा कमी आएपनि जोखिम भने कायमै रहेको उल्लेख गरिन् । उनले कोरोनाको विभिन्न प्रजाति र सह प्रजाति फेला पर्ने क्रम जारी रहेकाले जोखिम कायमै रहेको बताइन् ।
पछिल्लो समय देखिएको ओमिक्रोन भेरिएन्टको सह प्रजाति बीए प्वान्ट टु अर्थात् स्टील्थ विश्वका ५७ मुलुकमा फैलिसकेको र यो ओमिक्रोनभन्दा पनि बढी सङ्क्रामक रहेकाले सबैले सावधानी र सचेतना अपनाउनुपर्ने उनको भनाइ छ ।
डा.मिश्रले कोरोना भाइरसको विभिन्न प्रजाति र सहप्रजातिबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न र खोप अनिवार्य लगाउन पनि सबैलाई आग्रह गरिन् ।