नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ
काठमाडौं,१९ माघ । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा प्रहरीले अस्पतालका कर्मचारी र बिचौलियालाई पक्राउ गरेको छ ।
प्रहरीले भक्तपुरको मध्युपरठिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर बनाएको अभियोगमा कर्मचारीसहित बिचौलियाहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा विदेह नगरपालिका-४ धनुषाका रोशनकुमार छिट्टान, छिरेश्वर नगरपालिका-१ धनुषाका नागेन्द्र यादव, तेमा गाउँपालिका-५ काभ्रेका माधव मैनाली र बलरा नगरपालिका-७ सर्लाहीका प्रसन्नकुमार झा छन् । त्यस्तै राजदेवी नगरपालिका-४ रौतहटका भावेश मित्र र काठमाडौं महानगरपालिका-३२ का निर्मल गिरी भने फरार छन् ।
उक्त बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।