कैलालीका ६५ प्रतिशत नागरिकहरुले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
कैलाली, १८ माघ । कैलालीमा ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको संख्या ७१ प्रतिशत पुगेको छ ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसंख्या छ लाख ६४ हजार ६८८ रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार कैलाली कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले पनि यहाँ नियमित खोप कार्यक्रम भइरहेका छन् । नागरिक अनिवार्य खोप लगाउनुपर्छ भन्नेमा समेत सचेत भएका छन् ।
कैलालीमा सोमबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि मोडर्ना खोप लगाउने काम सुरु गरिएको छ । जिल्लामा रहेका एक लाख २० हजार बालबालिकालाई खोप लगाइने भएको छ ।
बालबालिकालाई खोप लगाउन अहिले एक लाख ११ हजार डोज खोप जिल्लामा आइपुगेको र सोहीअनुसार खोप अभियान सञ्चालन गरिएको प्रमुख धामीले बताए ।