नेपालमा दैनिक संक्रमणदर घटेसँगै अस्पतालमा कस्तो छ बिरामीको चाप ?
काठमाडौं, १७ माघ । नेपालमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमणको दर घट्न थालेको छ । आइतवार १३ हजार १ सय ४५ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । एकसाता अघि झन्डै १२ हजार दैनिक सङ्क्रमणदर रहेकोमा अब त्यो सङ्ख्या ५ हजारभन्दा तल झरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने माघ १२ गतेदेखि कोरोना सङ्क्रमणको दर निरन्तर ओरालो लाग्दै गएको छ । माघ १२ गते २० हजार ५ सय ५९ मा कोरोना परीक्षण गर्दा ८ हजार ४ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । माघ १३ गते २१ हजार ८ सय ८ मा कोरोना परीक्षण गर्दा १ हजार १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
त्यस्तै माघ १४ गते १९ हजार ८ सय ६९ मा कोरोना परीक्षण गर्दा ६ हजार ८ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । माघ १५ गते १४ हजार ५ सय ६२ मा कोरोना परीक्षण गर्दा ४ हजार ९ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । माघ १६ गते १३ हजार १ सय ४५ मा कोरोना परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । यो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको देखिन्छ ।
कति छन् अस्पतालमा बिरामीको सङ्ख्या ?
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सुचना अधिकारी सूचना अधिकारी नवराज गौतम अहिले अस्पतालमा कोभिड–१९ का बिरामी भर्ना हुने दरमा कमी आएको बताउँछन् ।
४ दिन यतादेखि कोभिडका बिरामीहरू अस्पताल भर्ना हुने दर घट्न थालेको उनको भनाइ छ । अहिले अस्पतालमा १८ जना सङ्क्रमित भर्ना भई उपचाररत छन् । त्यसमध्ये ७ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा छन् । अस्पतालमा भर्ना भएका सबै जना ७० वर्षभन्दा माथिका रहेको गौतमले बताए ।
अस्पतालमा केही दिन यतादेखि रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीहरू पनि घट्न थालेका छन् । पहिला दैनिक २५ देखि ३० जना फिभर क्लिनिकमा पुग्ने गरेपनि अहिले दैनिक २० जनाभन्दा कम बिरामीहरू मात्र फिभर क्लिनिकमा आउने गरेको उनले बताए ।
गौतम भन्छन्, ‘अहिले अस्पतालमा पिसिआर परीक्षण गराउन आउने बिरामीको सङ्ख्यामा पनि कमी आएको छ । पहिला एकैदिन साढे ३ सय पिसिआर हुने गरेकोमा अहिले २ सयको हाराहारीमा पिसिआर हुने गरेको छ ।’
सेति अस्पताल, कैलाली
सेति अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले अस्पतालमा केहि दिनदेखि कोरोनाका बिरामीको सङ्ख्या घट्न थालेको बताए ।
श्रेष्ठका अनुसार अस्पतालमा माघ १७ गते २४ जना सङ्क्रमित भर्ना भई उपचाररत छन् । त्यसमध्ये ८ जना आईसीयूमा छन भने २ जना भेन्टिलेटरमा उपचाररत छन् । अस्पतालमा भर्ना हुनेमा ४ महिनाको शिशुदेखि ८० वर्षसम्मका व्यक्तिहरू रहेको उनले बताए ।
अस्पतालमा रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीहरूको सङ्ख्या स्थिर रहेको भन्दै उनले दैनिक रुपमा इमर्जेन्सीमा १० देखि २० जना र ओपीडिमा ३० देखि २० जना बिरामीहरू आउने गरेको उल्लेख गरे ।
श्रेष्ठ भन्छन्, ‘अहिले अस्पतालमा पिसिआर परीक्षण गराउन आउने बिरामीको सङ्ख्यामा पनि कमी आएको छ । पहिला एकैदिन साढे ४ सय पिसिआर हुने गरेकोमा अहिले ३ सयको हाराहारीमा पिसिआर हुने गरेको छ । जसले गर्दापनि सङ्क्रमणदर घटेको हुन सक्छ ।’
साथै यसपटक भारतमा कोरोनाको जोखिमलाई लिएर धेरै कडाइ नगर्दा पनि भारत गएका नेपाली उतै बसेकाले पनि सङ्क्रमणदर खासै नबढेको उनले उल्लेख गरे ।
कोशी अस्पताल, विराटनगर
कोशी अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा.चुमनलाल दासले अहिले अस्पतालमा कोरोना बिरामीको सङ्ख्या घट्न थालेको बताए ।
दासका अनुसार माघ १७ गते अस्पतालमा २१ जना सङ्क्रमित उपचाररत छन् । जसमा ५ जना एचडीयूमा र १६ जना आईसीयूमा उपचाररत छन् ।
उनले यसपटकको कोरोनाले मानिसमा धेरै जटिलता उत्पन्न नगराएका कारण मानिसहरूले सामान्य रुपमा लिएको र घरमै आराम गरेकाले पनि कोरोना सङ्क्रमणको दर घटेको हुन सक्ने बताए ।
अस्पतालमा रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीहरूको सङ्ख्या पनि घटेको उनको भनाइ छ ।
सात/आठ दिन अघि धेरै व्यक्तिहरू रुघाखोकी र ज्वरोको समस्या लिएर आउने गरेपनि अहिले त्यो सङ्ख्यामा कमी आएको छ । अहिले १ सय ५० को हाराहारीमा त्यस्ता समस्याहरू आउने गरेको उनको भनाइ छ ।
नारायणी अस्पताल, पर्सा
नारायणी अस्पतालका कोभिड संयोजक डा।उदय सिंह अहिले अस्पतालमा कोरोना बिरामीको सङ्ख्या घट्न थालेको बताउँछन । अस्पतालमा सामान्य लक्षण भएका बिरामीहरू घटेपनि भर्ना हुने दर भने बढेको उनको भनाइ छ ।
सिंहका अनुसार माघ १७ गते अस्पतालमा ११ जना सङ्क्रमित उपचाररत छन् । त्यसमा ११ जना एचडीयूमा र ३ जना अक्सिजनको सर्पोटमा रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणदर उच्च भएको समयमा पनि अस्पताल भर्ना हुनेको सङ्ख्या भने कम भएको उनी बताउँछन् ।
अहिले अस्पतालमा रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीहरूको सङ्ख्या पनि घटेको उनले बताए । पहिला दैनिक २० देखि माथि त्यस्ता समस्या सलएर आउनेमा अहिले १० भन्दा मुनि झरेका छन् ।
सिंह भन्छन्, ‘अहिले अस्पतालमा पिसिआर परीक्षण गराउन आउने बिरामीको संख्यामा पनि कमी आएको छ । पहिला एकैदिन ७० देखि ९० वटा पिसिआर हुने गरेकोमा अहिले ५० भन्दा तलमा पिसिआर हुने गरेको छ ।’
यी मुख्य अस्पतालमा मात्रै होइन नेपालका अधिकांश अस्पतालमा नै कोरोना सङ्क्रमणको दर घटेको छ । कारण, कोरोना परीक्षण गराउनेको दरमा कमी आएको छ । साथै यसपटक देखिएको कोरोनाको ओमिक्रोनका कारण मानिसहरूमा बढी जोखिम नहुने भएको र सामान्य रुघाखोकी जस्तै देखिने भएकाले यसपटक कोरोना सङ्क्रमणको तेस्रो चरणको लहर साम्य हुँदै गएको देखिन्छ ।