नेपालमा काेराेना सङ्क्रमणको दर ओरालो लाग्दै, के हो कारण ?
काठमाडौं, १७ माघ । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर ओरालो लाग्न थालेको छ । सरकारले सार्वजनिक गर्ने कोरोना सम्बन्धी अद्य्यावधिक तथ्याङ्क अनुसार पछिल्लो एक सातादेखि नेपालको सङ्क्रमण दर ओरालो लाग्दै गएको देखिन्छ ।
एक साता अघि नेपालको सङ्क्रमण दर ५६ दशमलव ७ प्रतिशत रहेकोमा यो साता सङ्क्रमण दर २६ दशमलव ९ प्रतिशतमा झरेको छ ।
पुसको दोस्रो साताबाट तेस्रो चरणको लहर सुरु हुँदै गर्दा नेपालमा हालहम्मकै धेरै १२ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भयो ।
नेपालमा काेराेना सङ्क्रमणको दर बढ्नुको मुख्य कारण भारतसँगको खुला सीमानाका हो ।
कोरोनाको दुई चरणको लहरलाई हेर्ने हो भने भारतमा कोरोना सङ्क्रमण तीव्र बनेको एकदेखि दुई सातामै नेपालमा सङ्क्रमण दर बढेर जान्छ । सोही अनुसार यसपटक पनि नेपालमा कोरोनाको तेस्रो चरणको लहर सुरु भयो ।
भारतमा पुसको पहिलो सातामै कोरोनाको तेस्रो चरणको लहर सुरु भएको थियो । त्यसको एक साता पछि नै नेपालमा कोरोनाको तेस्रो चरणको लहर सुरु भयो ।
पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण सङ्क्रमण तीव्र गतिमा फैलिएका कारण सङ्क्रमणमा वृद्धि भएको छ । जसका कारण नेपाल मात्रै नभइ विश्वभर सङ्क्रमण दरले रेकर्ड कायम गर्दै आएको छ ।
तर, गएको एक साता यता नेपालमा सङ्क्रमण दर ओरालो लाग्दै गएको छ ।
साथै सुरुवाति क्रममा मानिसहरु विदेश जाने क्रम पनि हुँदा सङ्क्रमण दर बढेको हुन सक्ने जानकारहरु बताउँछन् ।
सङ्क्रामक रोग एवं छातिरोग विषेशज्ञ डा. निरज बम, नेपालमा कोरोनाको सङ्क्रमण दर ओरालो लाग्नुको कारण भारतमा सङ्क्रमण दर स्थिर रहनुलाई मान्छन् ।
उनी भन्छन्, 'भारतमा पछिल्लो एक सातादेखि सङ्क्रमण दर स्थिर छ । जसका कारण नेपालमा पनि सङ्क्रमण दर घट्दै गएको छ । नेपालको हालसम्मको अवस्था हेर्ने हो भने भारतमा सङ्क्रमण दर स्थिर हुँदा नेपालमा पनि सङ्क्रमण दर घट्न थाल्छ ।'
सरकारले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर गरेको कडाई र मानिसहरुमा पनि सचेतना भइसकेकाले सङ्क्रमण दर घट्न थालेको उनको भनाइ छ ।
डा. बमले हालसम्मको कोरोनाको दुई चरणको लहरलाई हेर्ने हो भने बढीमा डेढदेखि दुई महिनासम्म सङ्क्रमण उच्च हुने र त्यसपछि विस्तारै सङ्क्रमण दर घट्दै जाने बताए ।
सरकारले सार्वजनिक गरेको विवरणमा पनि सङ्क्रमण दर घट्दै गएको देखिन्छ।