अस्पतालले आफ्नै फार्मेसी सञ्चलान नगरे आन्दोलन गर्ने नेपाल फार्मेसी संघको चेतावनी
काठमाडौं, १६ माघ । अस्पताल हाता भित्र निजी फार्मेसी सञ्चालनलाई निरन्तरता दिए आन्दोलनमा जाने फार्मेसी संघले सरकारलाई चेतावनी दिएको छ ।
बाह्य फार्मेसीलाई अस्पताल हाता भित्र फार्मेसी सञ्चलान गर्दा उपभोक्ता बिरामीहरू चर्को मूल्यको भार खेप्न बाध्य भएको भन्दै नेपाल फार्मेसी संघले सरकारलाई ध्यानाकर्षण गराएको छ । यस्ता फार्मेसीले अस्पताल फार्मेसीको व्यवसायीक वृद्धि विकासमा समेत प्रत्यक्ष असर परेको उनिहरुले दावी गरेका छन् ।
अस्पतालको फार्मेसीले अपेक्षित मुनाफा आर्जन गर्न समेत वाह्य फार्मेसी बाधक बनेको नेपाल फार्मेसी संघको भनाई रहेको छ ।
अस्पतालको आन्तरिक विकासमा फार्मेसीको महत्वपूर्ण भूमिका रहने तथा उपभोक्ताले समेत शुलभ मुल्यमा औषधि तथा स्वास्थ्य सामाग्री प्राप्त गर्न सक्ने अवस्था रहने गरी सर्वपक्ष हितको ग्यारेन्टी गर्नुपर्ने उनिहरुको माग रहेको छ ।
अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ ले व्यवस्था गरे अनुरूप क्लिनिकल फार्मेसी सेवा सहितको फार्मेसी सेवाको व्यवस्था गर्न नेपाल फार्मेसी संघले आइतबार सरकारलाई ध्यानाकर्षण गराएको हो ।
कानुन विपरित गई फार्मेसीका लागि टेन्डर गर्ने तथा पुरानोलाई नै निरन्तरता दिने कार्य गर्ने कुचेष्टा गरिएको खण्डमा त्यस प्रकारको गैरकानुनी, सम्मानित सर्वोच्च अदालतको आदेश विपरित गएको अवस्थामा नेपाल फार्मेसी संघ देशव्यापी रूपमा सशक्त, चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने नेपाल फार्मेसी संघका महासचिव युवराज भुसालले जानकारी दिए ।