विश्व कुष्ठरोग दिवस

नेपालबाट कुष्ठरोग निवारणका लागि सरकारको नयाँ रणनीति,शून्यमा झार्ने लक्ष्यमा चुनौती कायमै



Download our app to get more features

काठमाडौं,१६ माघ । सरकारले सन् २०२० सम्म नेपालमा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेपनि त्यो पूरा हुन चुनौती देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग निवारण तथा अपाङ्गता शाखाका प्रमुख डा.रविन्द्र बास्कोटाले सन् २०२० सम्ममा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेपनि त्यो पुरा हुन नसकेको स्वीकारे ।

बास्कोटा भन्छन्, 'नेपालमा वर्षेनि कुष्ठरोगका बिरामी बढ्दै गइरहेका छन् । नेपाल सरकारले सन २०१० मा नेपालमा कुष्ठरोग अन्त्य भएको घोषणा गरेपनि कुष्ठरोगका नयाँ बिरामी झन बढ्दै गएको छ । त्यसपछिका अन्य  वर्षहरुमा पनि २५ सयदेखि ३ हजार ३२ सयसम्म कुष्ठरोगका नयाँ बिरामीहरु भेटिएका छन् ।'

गत आर्थिक वर्ष २०७७/७८ मा पनि २ हजार १ सय ७३ जना नयाँ कुष्ठरोगको बिरामीहरु पहिचान भएको र त्यसमध्ये १ सय १ जना १५ वर्ष मुनिका बालबालिका रहेको उनले बताए ।

 हाल देशभर २ लाख कुष्ठरोगी रहेको र नयाँ कुष्ठरोगी भेटिने सङ्ख्यालाई शून्यमा झार्न चुनौती रहेको डा. बास्कोटाको भनाइ छ ।

कोरोना महामारीका कारण गत आर्थिक वर्षमा कुष्ठरोगको बिरामी कम पहिचान भएको उनको भनाइ छ । सङ्ख्या कम देखियो भन्दैमा समस्या कम भएको भन्न नहुने र नेपालमा कुष्ठरोगको समस्या उतिकै रहेको उनी बताउछन् । 

नेपालमा अहिले कुष्ठरोग निवारणका लागि २०२१ देखि २०३० सम्मको नयाँ रणनीति ल्याएको र त्यसैअनुरुप कार्यक्रमहरु गरिरहेको उनले बताए । 

कुष्ठरोग निवारणका लागि सरकारले घर घरमा गएर कुष्ठरोगका बिरामीहरुलाई पहिचान गर्ने र उपचार गर्ने,कन्ट्राक ट्रेसिङ्ग गर्ने,पहिचान भएका कुष्ठरोगका बिरामीहरुको उपचार गर्ने, सर्जरी गर्नुपर्ने कुष्ठरोगका बिरामीहरुलाई निस्शुल्क सर्जरी गर्ने आदि कार्यक्रमहरु गरिरहेको उनको भनाइ छ ।  

कुष्ठरोगको जोखिममा हरेक उमेर समुहका व्यक्तिहरु रहेपनि १० देखि १५ वर्ष र २५ देखि ४५ वर्ष उमेर समुहमा बढी कुष्ठरोग देखिने गरेको अध्ययनहरुले देखाएको छ ।

डा.बास्कोटाले विषेशगरी तराई क्षेत्रमा कुष्ठरोगी फेला पर्ने गरेको पनि जानकारी दिए ।

Last modified on 2022-01-31 08:50:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts