किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि आजदेखि विद्यालय खोलिँदै
काठमाडौं, १६ माघ । सरकारले किशोरकिशोरीलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि आजदेखि विद्यालय खुलाउने निर्णय गरेको छ ।
विद्यालय बन्द हुँदा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाउन समस्या भएकाले आजदेखि बिहीवारसम्मका लागि विद्यालय खोल्ने निर्णय गरिएको सरकारले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार विद्यालयमै खोप अभियान सुरु गर्न र किशोरकिशोरीलाई कोरोनाको जोखिमबाट बचाउनका लागि आजदेखि बिहीवारसम्म ५ दिन खोप लगाइने भएकाले विद्यालय खोल्ने निर्णय गरिएको बताएको छ ।
कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि गत पुस २५ गते सीसीएमसीले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । कोरोनाको जोखिम रहेकाले सरकारले अब माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।
विद्यालयमा खोप लगाउन सहज हुने भएकाले सरकारले ५ दिनका लागि विद्यालय खोल्ने निर्णय गरेको हो ।