नेपालमा सिटामोलको अभाव छैन, माघको अन्तिमसम्म ७० लाख ट्याबलेट बजारमा पठाउछौं: एप्पोन
काठमाडौं, १२ माघ । नेपाल औषधि उत्पादक सङ्घले बजारमा सिटामोलको अभाव नरहेको दावी गरेको छ ।
सङ्घले कोरोना महामारीको बेला सिटामोल लगायतको औषधि बजारमा अभाव रहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै कृत्रिम अभाव उत्पन्न गराउनु गलत भएको पनि बताएको छ ।
सङ्घका महासचिव विपलव अधिकारीले वर्तमान अवस्थामा बजारमा सिटामोल अभाव भएको हल्ला फैलाउनु गलत भएको बताए ।
उनले सङ्घमा आवद्ध औषधि उत्पादक उद्योगहरूले बजारमा सिटामोल अभाव हुन नदिनका लागि उत्पादनमा लागिरहेको बताए ।
उनले भने, ' नेपाली बजारमा वार्षिक ७ करोड चक्की माग हुने गरेको र त्यसको ९९% माग नेपाली उद्योगले नै पुर्ति गरिरहेको छ । सरकारले १५ वर्ष अघिको मूल्यमै औषधि बिक्री गर्न भनेको र नेपाली उद्योगले सोही अनुसार उत्पादन गर्दै आएको छ ।'
हाल हामीसँग ५ सय चक्की र यसको कच्चा पदार्थको मौज्दात विवरण सन्तोषजनक रहेको उनको भनाइ छ ।
महासचिव अधिकारीले नेपाली औषधि उद्योगहरूले पुस महिनामा ५०० एमजीको ४३ लाख प्यारासिटामोल पठाएको र माघको दोस्रो सातामा ३५ लाख र यो महिनाको अन्तिमसम्म ३५ लाख गरी ७० लाख प्यारासिटामोल पठाउने लक्ष्य लिएको बताए ।
उनले हाल नेपाली औषधि उद्योगसँग कच्चा पदार्थको मौज्दात २९ हजार ४ सय ६० किलोग्राम रहेको र त्यसबाट करिब ३ करोड ८४ लाख ८३ हजार ९ सय ट्याबलेट उत्पादन गर्न सकिने पनि जानकारी गराए ।
साथै उनले बजारमा सिटामोलको कृत्रिम अभाव उत्पन्न नगर्न र अनावश्यक रूपमा औषधि सञ्चित नगरिदिन पनि आग्रह गरे ।