कोरोनाविरुद्धको थप २३ लाखभन्दा बढी मात्रा मोडर्ना खोप आज नेपाल आउँदै



Download our app to get more features

काठमाडौं, ११ माघ । सरकारले कोरोनाविरुद्धको थप २३ लाखभन्दा बढी मात्रा मोडर्ना खोप आज नेपाल ल्याउँदै छ ।

विशेषगरी बालबालिकाका लागि प्रयोगमा रहेको कोरोनाविरुद्धको मोडर्ना खोपको थप २३ लाख ४० हजार मात्रा आज नेपाल आइपुग्ने सरकारले बताएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले खोप आज बिहान ९ बजेर १० मिनटमा कतार एयरबाट नेपाल आइपुग्ने बताए ।

उनले आज आउन लागेको खोप कसलाई कुन क्षेत्रमा लगाउने विषयमा टुङ्गो नलागेको पनि बताए ।

यसअघि सोमबार पनि १६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आएको थियो ।

सरकारले यो खोप विश्व बैङ्कको सपोर्टमा खरिद गरेको चौरसियाको भनाइ छ । 

उनका अनुसार खोपसँगै सिरिञ्ज भने ल्याइएको छैन । उक्त खोपका लागि आवश्यक पर्ने सिरिञ्जको व्यवस्था भने सरकारले आफैं गर्नेछ ।

सरकारले खोपका लागि आवश्यक पर्ने सिरिञ्ज खरिद सम्झौता गरी ल्याइरहेको छ । सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको २ करोड ४ लाख सिरिञ्ज मध्ये ५० लाख सिरिञ्ज भने आइसकेको चौरसियाले बताए । 

यसअघि पनि ३८ लाख मोडर्ना खोप आइसकेको छ । यसअघि आएको खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो । 

यसअघि आएको मोडर्ना खोप प्रदेश १ का ११, मधेसका पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाइएको थियो ।

Last modified on 2022-01-25 12:22:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts