गेटामा मेडिकल कलेजलाई विश्व विद्यालय बनाउने सम्बन्धी विधेयकको ड्राफ्ट अझै बनेन



Download our app to get more features

धनगढी, १० माघ । कैलालीको गेटामा संरचना निर्माणको काम अन्तिम चरणमा भएपनि एमबीबीएसको अध्यापनका लागि भने समय लाग्ने देखिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत गेटा मेडिकल कलेजका भौतिक संरचना निर्माणको काम ८५ प्रतिशत पूरा भएको बताएको छ। तर, सरकारसँग एमबीबीएसको अध्यापनका लागि कानूनको अभाव देखिएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गेटामा मेडिकल कलेज सञ्चालनका लागि २०७५ मै विधेयक प्रतिनिधि सभामा पठाउन मन्त्रिपरिषदमा पठाएको थियो। तर उक्त विधेयक फिर्ता आयो। पुनः शिक्षा मन्त्रालयले विधेयकको मस्यौदा संसोधन गर्दै मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषदले विधेयकलाई प्रतिनिधि सभामा लगेको छैन। 


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विधेयकको मस्यौदा कानून निर्माणको प्रक्रियामा रहेको बताएका छन्। ‘विधेयकको मस्यौदा तयार छ। कानून निर्माणको चरणमा छ। चिकित्सा शिक्षा ऐन अनुसार भौतिक संरचना निर्माणको काम पूरा भए अस्पताल सञ्चालन गर्नसक्छौ’ उनले भने, ‘एमबीबीएसको अध्ययन सुरु हुन्छ। तर ऐन, कानून चाहिन्छ।’ गेटामा मेडिकल कलेज, मेडिकल विश्व विद्यालय अथवा स्वास्थ्य विज्ञान प्रतिष्ठान जे भएपनि एमबीबीएसको पढाइ हुने उनको दाबी छ।

‘हामीले डाक्टर उत्पादन गर्ने हो। अस्पतालसहितको मेडिकल कलेज भएकाले नाम के राख्ने त्यो पछिको विषय हो,’ उनले भने। 

गेटामा एमबीबीएसको अध्यापन तथा मेडिकल कलेज सञ्चालनका लागि शिक्षा मन्त्रालयले विधेयकको ड्राफ्ट तयार पारेको छ। तर त्यहाँ मेडिकल विश्व विद्यालय सञ्चालन गर्नुपर्ने धेरैको धारणा छ। अस्पताल सञ्चालनको विषयमा भने सरकार नै स्पष्ट भएको छैन। कानून नभएकाले अस्पताल सञ्चालनका लागि समस्या हुने देखिएको छ। 

यता गेटा मेडिकल कलेज, पूर्वाधार विकास समितिका सदस्य सचिव हेमराज पुजाराले पानी, फोहर, विद्युत र सडक बाहेकका सबै भौतिक संरचना निर्माणको काम पूरा भएको बताए। उनले पानी र फोहोर व्यवस्थापनको मात्र ठेक्का सम्झौता गर्न बाँकी रहेको बताए। सडक निर्माण र विद्युतको काम जारी रहेको उनले बताए। मेडिकल कलेजका भौतिक संरचना निर्माणको काम पूरा भएपनि अस्पताल सञ्चालनमा नै अन्योलता रहेको उनले जानकारी दिए।

‘भौतिक संरचना निर्माणको काम लगभग पूरा भयो। अस्पतालभित्र उपकरण जडानको काम बाँकी छ। ऐन आएको भए एक वर्षभित्र अस्पताल सञ्चालन गर्न सकिन्छ’ पुजाराले भने, ‘तर सञ्चालनको मोडालिटी फिक्स भएको छैन। विश्व विद्यालय, मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान के हुने ? ऐन छैन। ऐनको काम भए एक वर्षमा अस्पताल सञ्चालन गर्नसक्छौ।’ 

तर नेपालका सबै कलेजहरुलाई जोडेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाए गेटा ओझेलमा पर्ने आशंका गरिएको छ। ‘चार/पाँच वटा मेडिकल कलेजलाई एकै ठाउँमा राखेर प्रतिष्ठान बनाए समस्या हुन्छ’, पुजाराले भने, ‘क्याबिनेटमा गएको विधेयकले गेटा लागि कतिको काम गर्छ भन्ने छ। हामीलाई मेडिकल विश्व विद्यालय चाहिन्छ। विश्व विद्यालयले अरुलाई सम्बन्धन पनि दिन सकिन्छ।’ 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले मेडिकल विश्व विद्यालयका लागि कानून निर्माणको तयारी गरेको प्रतिनिधि सभा सदस्य नारदमुनी रानाको दाबी छ। उनले भने, ‘गेटामा मेडिकल विश्व विद्यालय सञ्चालन गर्नुपर्छ। हामीले कानून निर्माणको प्रक्रिया सुरु गरेका थियौ। तर काम पूरा भएन। अहिलेको सरकारले काम गरेको छैन।’ तर प्रतिनिधि सभा सञ्चालनमा नेकपा एमालेले नै अवरोध गर्दै आएको छ।

अहिले मेडिकल कलेज अहिले अध्यक्षविहीन छ। मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्ष चेतराज पन्तको समय अवधि सकिएको छ। दुई वर्षको समय रहेकोमा उनको एक महिना पहिले समय सकिएको हो। सरकारले नयाँ अध्यक्ष तथा पन्तको समय समेत थपेको छैन।

Last modified on 2022-01-25 10:37:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts