कोरोना सङ्क्रमणका कारण चितवनमा एक युवतीको मृत्यु



Download our app to get more features

चितवन, १० माघ । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० की २४ वर्षीया युवतीको शनिवारै मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । कोरोनाको तेस्रो लहर शुरू भएपछि चितवनमा पहिलोपटक कोरोनाका कारण मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणसँगै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई माघ ८ गते अस्पताल भर्ना गरिएको थियो । उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनको कोभिड आईसियूमा राखेर उपचार शुरू गरिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनको मात्रा कम भएको अस्पतालले जनाएको छ । उनमा जटिल प्रकृतिको कोभिड निमोनिया समेत देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लाभर कोरोना सङ्क्रमित भएका मध्ये आइतवार दिउँसोसम्म मृत्यु हुनेको सङ्ख्या ४ सय ३८ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका दुइ मेडिकल कलेजः चितवन मेडिकल कलेज (सिएमसी) र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज), त्यस्तै, एक सरकारी अस्पतालः भरतपुर केन्द्रीय अस्पतालमा गरी ५१ जनाको उपचार चल्दैछ ।

यसरी उपचार रहनेमा ४२ जना चितवनका छन् भने बाँकी ९ जना अन्य बाहिरी जिल्लाबाट यहाँ उपचारका लागि आएका मध्येका हुन । उपचाररत् ५१ जना मध्ये १५ जना आईसियू, १ जना भेन्टिलेटर र ३५ जना एचडीयूमा रहेको कार्यालयले जनाएको छ ।

आइतवार दिउँसोसम्म जिल्लाभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ६१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये २ हजार ८ सय १९ जना होम आइसोलेसन र ४२ जना अस्पताल भर्ना भई उपचाररत रहेका छन् ।

Last modified on 2022-01-24 12:30:02

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts