नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० लाख नाघ्यो, सबैभन्दा धेरै २१ देखि ३० वर्षका



Download our app to get more features

काठमाडौं, १० माघ । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आरटी पिसिआर र एन्टिजेन विधिबाट हालसम्म गरिएको परीक्षणमा हालसम्म १० लाख २३ हजार ३ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सरकारले सार्वजनिक गर्ने अद्यावधिक तथ्याङ्क अनुसार नेपालमा हालसम्म ५१ लाख २१ हजार ६ सय ६२ आरटी पिसिआर विधिबाट ९ लाख १० हजार ३ सय ९४ र ९ लाख २२ हजार ८२ एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख १२ हजार ९ सय १३ जनामा कोरोना पुष्टि भएको छ । 

नेपालमा कोरोनाको तेस्रो चरणको लहरका कारण हालसम्मकै धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । माघ ६ गते नेपालमा हालसम्मकै धेरै १२ हजार ३ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा हाल कोरोनाको तेस्रो चरणको लहर चलिरहेको छ । यसअघि नेपालमा कोरोनाको पहिलो लहर २०७७ को वैशाख÷जेठमा र दोस्रो चरणको लहर २०७७ कै चैत तेस्रो सातामा सुरु भएपनि २०७८ को वैशाख÷जेठमा तीव्र बनेको थियो । 

नेपालमा गत पुस १९ गते कोरोना सङ्क्रमणको दर २ दशमलव ६ प्रतिशत रहेकोमा २१ दिनपछि माघ ९ गते त्यो दर ३७ दशमलव १ प्रतिशतमा पुगेको छ । जसमा माघ ६ गते सङ्क्रमणदर ५६ दशमलव ८ प्रतिशत पुगेको थियो । 

हाल देखिएका सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै रहेका छन् । दैनिक कुल सङ्क्रमितमध्ये ६० प्रतिशत सो उमेर समूहका नागरिक रहेका छन् । त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहकामा बढी सङ्क्रमण देखिएको छ । 

सरकारका अनुसार कोरोनाविरुद्धको खोप नलगाएका कारण २१ देखि ३० वर्ष उमेर समूहका मानिसहरू बढी सङ्क्रमित भएको हुन सक्छन् । अर्को भनेको यो उमेर समूह बढी कामकाजी हुने भएकाले पनि खोप लगाएपनि उनीहरूमा सङ्क्रमण तीव्र हुन सक्छ । कारण, सरकारले खोप अभियान सञ्चालन गरेदेखि प्राथमिकताका आधारमा खोप लगाउँदा ६० वर्षभन्दा माथिकालाई पहिले खोप लगाएको थियो । 

सरकारले खोप अभियान अन्तर्गत भने पछिल्लो समय १२ वर्षदेखिका सबैलाई खोप लगाइरहेको छ । तर, खोपप्रतिको जनचेतना अभावका कारण भने खोप लगाउनेको सङ्ख्या सोचे अनुसारको हुन नसकेको देखिन्छ । 

हालसम्म सरकारले २ करोड ९३ लाख ५ हजार ३ सय ८५ जनालाई खोप लगाइसकेको छ । जसमा एक मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड ६२ लाख ५६ हजार २५ रहेको छ भने पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या १ करो २८ लाख ९८ हजार ९ सय २३ रहेको छ । जबकी माघ २ गतेबाट सुरु भएको अतिरिक्त मात्रा खोप लगाउनेको सङ्ख्या १ लाख ५० हजार ४ सय ३७ रहेको छ ।

सरकारले विभिन्न मुलुकबाट खोप ल्याउने कामलाई पनि जारी राखेको छ । तर, खोप लगाउने क्रम भने अझै सुस्त गतिमै देखिन्छ ।   

यस्तै नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि निको हुनेको सङ्ख्या र मृत्यु हुनेदर भने कम रहेको छ । दिनकै सरदर १० हजारका दरले नयाँ सङ्क्रमित थपिँदा निको हुनेको सङ्ख्या भने ५ सयदेखि हजारको हाराहारीमा रहेको छ । यस्तै मृत्यु हुनेदर पनि औसतमा ५ रहेको छ । 

हालसम्म नेपालमा कोरोना सङ्क्रमित भएकामध्ये ८ लाख २१ हजार ६ सय ९९ स्वस्थ भएका छन् । योदर कुल सङ्क्रमितको ९० दशमलव ३ प्रतिशत हो । यस्तै नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ६ सय ५५ जनाको मृत्यु भइसकेको छ ।

Last modified on 2022-01-24 13:15:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts