सुदूरपश्चिममा पनि ‘सिटामोल’ अभाव हुनसक्ने
धनगढी, ८ माघ । सरकारले सिटामोललाई आधारभूत औषधिको रुपमा सूचीकृत गरेको छ। यो आयातित औषधि पनि होइन। तर नेपालमै उत्पादन हुने सिटामोल पाउन समेत अस्पताल तथा फार्मेसीलाई समस्या भइरहेको छ। केही दिनयता कोरोना संक्रमणको दर बढेसँगै सिटामोलको माग उच्च दरले बढेको पाइएको छ। अस्पताल जानेभन्दा घरमै आइसोलेसनमा बस्ने संक्रमित धेरै भएकाले एउटै व्यक्तिले आवश्यकता भन्दा बढी औषधि गरिद गर्दा विशेषगरी पारासिटामोलको अभाव सुरु भएको चिकित्सकहरुले बताएका छन्।
एउटै व्यक्तिले पुरै प्याकेट अर्थात एक सयभन्दा बढी पत्ता खरिद गर्दा आपूर्ति गर्न कसैलाई पनि सहज नहुने सेती प्रादेशिक अस्पतालका एक अधिकारीले बताए। ‘बजारमा अभाव भएको सिटामोललाई लिएर कालोबजारीको आशंका भइरहँदा उपभोक्ताले चाहिनेभन्दा धेरै औषधि स्टकमा राख्दा पनि आपूर्तिमा कमी आएको हुनसक्छ’ उनले भने। सेती प्रादेशिक अस्पतालले सञ्चालन गरेको फार्मेसीमा भने आधारभूत औषधिको अभाव नभएको दाबी गरिएको छ।
‘दुईदिन अगि संक्रमितलाई सिटामोल खुवाउनुपर्ने माग बढेकाले अभाव भएको थियो। तर अहिले खासै अभाव छैन’ फार्मेसीमा कार्यरत देवेन्द्र नाथले भने, ‘अहिले फार्मेसीमा सिटामोलको अभाव छैन, तर माग भने बढ्दै गएको देखिन्छ।’ तर औषधि खरिदको अवस्थालाई हेर्दा सेतीको फार्मेसीमा पनि अभाव हुनसक्ने कतिपयको तर्क छ।
कैलालीका निजी अस्पताल सञ्चालकहरुले भने विगत ५ महिनादेखि सिटामोल सहजरुपमा पाउन नसकिएको बताउँदै आएका छन्। कोभिड संक्रमितको उपचारका लागि तुलनात्मक रुपमा सिटामोल बढी प्रयोग भइरहेको अवस्थामा अस्पतालले खोजेको कम्पनीको औषधि पाउनै समस्या भइरहेको छ। ५÷६ स्थानमा धाउँदा बल्ल औषधि पाइने गरेपनि खोजेको कम्पनीको औषधि पाउन समस्या भएको माया मेट्रो अस्पताल प्रालिको औषधि फाँटमा कार्यरत उज्जल केसीले बताए। ‘अत्यावश्यक औषधि भनेकै सिटामोल हो तर सहज रुपमा पाउन सकेको छैन’ उनले भने।
यतिबेला भारतीय बजारमा भन्दा नेपाली बजारमा सिटामोलको मूल्य कम छ। नेपालमा एक रुपैयाँ पर्ने सिटामोल भारतीय बजारमा भारतमा २ रुपैयाँ पर्न जान्छ। तर पारासिटामोल पाउन धेरै उत्पादकसम्म धाउनुपर्ने अवस्था रहेको अस्पताल सञ्चालकहरुको गुनासो छ।
यता औषधि आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा हाल ५ लाख ट्याब्लेट सिटामोल स्टक रहेको बताइएको छ। केन्द्रका निमित्त प्रमुख पदम विष्ट भन्छन्, ‘गत वर्ष हामीले २५ लाख ट्याब्लेट सिटामोल आपूर्ति गरेका थियौं। हाल हामीसँग ५ लाख ट्याब्लेट छन्। थप ५ लाख ल्याउनका लागि बोलपत्र आव्हान गरेर आउने क्रममा छ।’
‘कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सोही अनुसार बजारमा पारासिटामोलको माग बढ्दै गएको सरोकारवाला बताउँछन्। सिटामोलको माग अत्यधिक बढ्दा त्यसको असर बजारमा पर्न थालेको छ। कोभिड–१९ संक्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि पारासिटामोल पाउन निजी अस्पताललाई सकस भएको अस्पताल सञ्चालकको गुनासो छ। बजारमा सिटामोल अभाव हुन थालेपछि उपभोक्ताहरू मेडिकल पसल चहार्न थालेका छन्।