कोरोना महामारीका कारण मातृ तथा बाल पोषणको अवस्था अझै बिग्रन सक्ने सम्भावना
काठमाडौं,७ माघ । कोरोना महामारीका कारण मातृ तथा बाल पोषणको अवस्था अझ बिग्रन सक्ने सम्भावना देखिएको छ ।
विगत तीन दशकमा महिला तथा बालबालिकाको क्षेत्रमा भएको प्रगतिमा केन्द्रित भएर युनिसेफले सार्वजनिक गरेको ‘मातृ तथा बाल पोषण’को विशेषांकमा कोरोनाले गर्दा अवस्था अझ बिग्रन सक्ने सम्भावना देखाएको हो ।
विशेषांकमा राजनीतिक तथा आर्थिक अस्थिरताका बावजूद नेपालले सहश्राब्दी विकास लक्ष्यको अवधि (सन् २००२ देखि २०१६ सम्म)मा बालबालिकामा हुने पुड्कोपनमा कमी ल्याउन र पोषण सेवाहरूको वृद्धि गर्नमा उल्लेख्य प्रगति गरेको थियो । तथापी, नेपालले अझै पनि पोषणको क्षेत्रमा थुप्रै चुनौतिहरूको सामना गरिरहेको छ । दिगो विकासका लक्ष्यहरूले बालबालिकाको पुड्कोपन र ख्याउटेपनको न्युनिकरणका लागि निर्दिष्ट गरेको गति, परिमाण र समानताका सूचकहरू अनुसार ‘आवश्यक गतिमा’अघि नबढिरहेको र कोभिड-१९ महामारीले गर्दा यो अवस्था अझ बिग्रन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।
त्यस्तै युनिसेफले बालबालिका, किशोर-किशोरीहरू र आमाहरूका लागि पोषणयुक्त, सुरक्षित, सुलभ र दिगो आहारको पहुँचमा सुधार गर्ने,पोषण कार्यक्रमहरू र सेवाहरू सम्बन्धी योजना बनाउन आवश्यक बजेटको व्यवस्था गर्ने,उनिहरुको हेरचाहकर्ताहरूसम्म यथार्थ जानकारी, सल्लाह र परामर्श सेवा पुर्याउन बहुसञ्चार माध्यमहरूको प्रयोग गर्ने जस्ता कार्यक्रमहरु गर्न आह्वान गरेको छ ।