कसरी लगाईंदै छ विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई कोरोनाविरुद्वको खोप ?

What's This?


Download our app to get more features

काठमाडौं, ७ माघ । सरकारले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्वको खोप लगाउँदै आएको छ । 

बालबालिकालाई उनीहरू पढ्ने विद्यालयमै कोरोनाविरुद्वको खोप लगाउने व्यवस्था सरकारले गरेको छ । ताकि उनीहरूलाई सहज होस् ।

२०६८ को जनगणना अनुसार नेपालमा १८ वर्ष मुनिका ४१ दशमलव ८४ प्रतिशत बालबालिका रहेका छन भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार विद्यालय बाहिर रहेका बालबालिकाको सङ्ख्या ४ दशमलव ५ प्रतिशत रहेको छ । 

त्यस्तै नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ को तथ्याङ्क अनुसार १७ वर्ष मुनिका करिब २ लाख ८६ हजार बालबालिका आर्थिक लाभको कार्यमा संलग्न छन् । 

बालबालिकाले विद्यालयमा नै खोप पाइरहेका भएपनि विद्यालय बाहिरका बालबालिकाले कसरी खोप लगाइरहेका छन् ?

राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल विद्यालय बाहिर रहेका बालबालिकाले पनि विद्यालयमा नै गएर खोप लगाउन सकिने बताउँछन् । 

विभिन्न श्रम क्षेत्रमा रहेका, बाल गृहमा भएका साथै अन्य बालबालिकाले पनि विद्यालयको खोप केन्द्रमा नै गएर खोप लगाउन सक्ने उनको भनाइ छ । 

तर, कति बालबालिका कुन क्षेत्रमा छन् भन्ने एकिन तथ्याङ्क परिषदसँग छैन् । 

धरेल भन्छन्, ‘सरकारले खोप केन्द्रहरूमा जाने भन्दा १० प्रतिशत खोप बढी पठाएको छ,त्यो खोप विद्यालय बाहिरका बालबालिकाहरूले पनि लगाउन सकुन भनेर हो । सबै बालबालिकाहरूले विद्यालयको खोप केन्द्रमा गएर खोप लगाउन सक्छन् । यदि केहि समस्या आएमा परिषदसँग समन्वय गर्न भनेका छौं ।’ 

विद्यालय बाहिर रहेका बालबालिकालाई कसरी खोप केन्द्रसम्म ल्याउने भन्ने कुरा स्थानिय तहलाई जिम्मेवारी दिएको उनी बताउँछन् । 

स्थानिय तह, विभिन्न सामाजिक सङ्घसंस्था, स्थानिय क्लबहरूले खोप अभियानको बारेमा धेरैलाई जानकारी दिन सके सबै बालबालिकाले खोप पाउन सक्ने उनको विश्वास छ । 

यसरी सञ्चालन गर्दै छ काठमाडौं महानगरले खोप अभियान :

काठमाडौं महानगरका स्वास्थ्य शाखा प्रमुख बलराम त्रीपाठी महानगरसँग विद्यालय बाहिर भएका बालबालिकाको तथ्याङ्क नभएको बताउँछन् ।

विद्यालय बाहिरका बालबालिकालाई कसरी कोरोना विरुद्वको खोप दिइरहनुभएको छ ? भन्ने प्रश्नमा उनले त्यस्ता बालबालिकाको लागि खोप लगाउन एक दिन छुट्याइएको बताए । 

त्रीपाठी भन्छन्, ‘अहिले बालबालिकालाई विद्यालयमै खोप दिइरहेका छौं । विद्यालय बाहिर रहेका बालबालिकाको लागि माघ ७ गते सबै वडाको स्वास्थ्य कार्यलयमा खोप लगाउने व्यवस्था गरेका छौं । उहाँहरुले स्वास्थ्य कार्यलयमा गएर खोप लगाउन सक्ने छन् ।’

यता, सरकारले पनि विद्यालय बाहिर रहेका उमेर पुगेका बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वडा कार्यलयबाट सिफारिस लिएर उमेर पुरा भएको भए खोप लगाउन पाइने बताएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले नै उमेर पुगिसकेका बालबालिका जो विद्यालय जान पाएका छैनन् वा जो विद्यालय बाहिर छन् उनीहरुले वडाबाट सिफारिस लिएर विद्यालयमै गएर खोप लगाउन पाउने बताइसकेका छन् । 

तर, हालसम्म त्यस्ता कति बालबालिका खोप अभियानमा समेटिए त्यसको यकिन तथ्याङ्क आउन बाँकी रहेको छ ।

Last modified on 2022-01-21 18:45:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts