खोप नलगाएका कोरोना संक्रमितमा जटिल समस्या



Download our app to get more features

धनगढी,४ माघ ।  कोभिडकै कारण सुदूरपश्चिम प्रदेशभर अहिलेसम्म ६ सय १५ जनाको मृत्यु भइसकेको छ । खोप प्राप्त गरेका व्यक्तिहरुमा समेत कोरोना संक्रमण हुने क्रम बढ्दो छ। साथै एक पटक कोरोना भइसकेका व्यक्तिमा समेत पुनः कोरोना संक्रमण भइरहेको छ। खोप नपाएका तर कोरोना भएका व्यक्तिलाई जटिल स्वास्थ्य समस्या हुने गरेको पाइएको छ। 

खोपका दुवै मात्रा प्राप्त गरेर पनि दोस्रोपटक कोरोना भएर होम आइसोलेसनमा रहेका धनगढीका पत्रकार दिलबहादुर छत्यालले पहिलोपटक संक्रमित हुँदा जस्तो स्वास्थ्य समस्या अहिले नदेखिएको अनुभव सुनाए। ‘पहिले खोप नलगाएका कारण हुन सक्छ खानाको स्वाद, ज्वरो आउनेलगायत समस्या थियो भने दुबै मात्रा खोप लगाइसकेपछि भएको कोरोनापछि त्यस्तो कुनै समस्या भएको छैन्,’ उनले भने।

नेपाल–भारत सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेमध्ये अधिकांशमा कोरोना भइरहेको छ। संक्रमण सीमा क्षेत्रबाटै भित्रिरहेको सरोकारवाला बताउँछन् । 

एकपटक पनि खोपको मात्रा नपाएका व्यक्तिमा कोरोना भाइरसको असर बढी देखिने गरेको उपचारमा संलग्न चिकित्सकको अनुभव छ। तर खोपको एक वा दुबै डोज प्राप्त गरेर पनि कोरोना पृष्टि भएका व्यक्तिमा भने खासै समस्या देखिएको छैन।

खोप पाएका व्यक्तिलाई उपचार गर्न कठिन नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमिक्त स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए। 

‘खोप पाएका व्यक्तिमा कोरोना देखिए पनि सामान्य उपचारपछि निको हुने गरेको छ,’ उनले थपे, ‘तर खोप नपाएका व्यक्तिमा संक्रमण हुँदा अधिकांशमा जटिल स्वास्थ्य समस्या देखा पर्ने गरेको छ।’

कोरोना भाइरसको ग्राफ सुदूरपश्चिममा दिनप्रतिदिन उकालो लागिरहेको छ । कुनै पनि प्रकारको खोप नपाएका व्यक्तिमा सबैभन्दा बढी संक्रमण भइरहेको छ। सीमा नाकाबाटै संक्रमित भित्रिरहेकाले सीमा व्यवस्थापनमा कडाइ गर्न नसकिए जटिल समस्या आउन सक्ने निमित्त स्वास्थ्य निर्देशक जोशीले बताए ।

सुदूरपश्चिममा अहिले पनि ठूलो जनसंख्या खोपबाट वञ्चित छ। खोप र सीमा व्यवस्थापनमा मात्र जोड दिन सक्ने हो भने कोरोना महामारीको संभावित तेस्रो लहरबाट सहजै पार पाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको सुझाव छ।

Last modified on 2022-01-18 12:52:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts