कोरोनाका बिरामीलाई छुट्याइएको बेड भरियो, व्यवस्थापनमा भरतपुर अस्पताल



Download our app to get more features

चितवन, ३ माघ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा कोभिड बिरामीलाई छुट्याइएका बेड धमाधम भरिन थालेको छ । 

जिल्लामा कोरोना संक्रमित बढ्दो क्रममा रहेको र अस्पताल भर्ना हुनेको संख्या समेत बढेको कारण अहिले कोरोनाका बिरामीलाई छुट्याइएको बेड भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले अस्पतालको १० वटा आईसीयू, १८ वटा एचडियू पूरै भरिएको छ । अन्य बेडमा समेत गरी आइतवार साँझसम्म ३८ वटा बेड भरिएको छ । जबकी दुइ साता अघि यस अस्पतालमा ८ जना मात्र संक्रमित उपचाररत् थिए । देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै एकसाता अघिदेखि चितवनमा पनि संक्रमणदर ह्वात्तै बढेको छ । संक्रमणदर बढेसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढेको अस्पतालले जनाएको छ । 

यसअघि कोरोना संक्रमितलाई छुट्याइएका बेडहरू संक्रमित घटेसँगै आवश्यक प्रक्रिया पूरागरी अन्य बिरामीलाई प्रयोग गरिएको थियो । अब अन्य वार्डहरू खाली गरी व्यवस्थापन गर्न लागिएको मेसु डा. पौडेलले जानकारी दिए ।

चितवनमा कोभिड उपचार गर्ने अस्पतालमा यसअघि संक्रमितको संख्या उच्च भएको समयमा नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था समेत थिएन । बीचमा केही समय संक्रमणमा नियन्त्रण आएसँगै उपचारमा सहज भएको थियो । अब पहिले भन्दा पनि अहिले नयाँ कोरोनाका बिरामी थपिने दर उच्च छ । संक्रमित थपिएसँगै गम्भीर प्रकृतिका बिरामी समेत बढ्ने हो भने पहिलेको भन्दा जटिल अवस्था नआउला भन्न सकिन्न ।

यसअघि पनि जटिल प्रकारका संक्रमितको संख्या पनि उत्तिनै धेरै थिए । सिकिस्त बिरामी बढिरहेकाले यहाँका कोरोनाको उपचार गराउदै आएका अस्पतालले थप बिरामीलाई सेवा दिन क्षमता विस्तार समेत गरे । जतिनै क्षमता बढाउँदा समेत अस्पतालले धान्न सकेका थिएनन् । नयाँ बिरामीलाई बेड पाउन हम्मेहम्मे नै थियो । तर, केही समय अवस्था सामान्य तर्फ गएको थियो । परिस्थिति फेरि पुरानै अवस्था तर्फ उन्मुख हुँदैछ । अस्पतालका कर्मचारीहरू संक्रमण हुने क्रम समेत बढ्दो रहेको यहाँका अस्पतालहरूले जनाएका छन् ।

चितवनमा सक्रिय संक्रमित ६ सय ४४ जना

झन्डै २ साता अघि जिल्लाभर ७० हाराहारी रहेको संक्रिय संक्रमितको संख्या बढेर आइतवार दिउँसोसम्म ६ सय ४४ जना पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ५ सय ३२ जना छन् । सबैभन्दा कम सक्रिय संक्रमित रहेका जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने ९ जना छन्।

अहिले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै चिकित्सकले विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2022-01-17 12:50:29

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts