अग्रपङ्क्तिमा खटिएकाहरूलाई आजदेखि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाइँँदै
काठमाडौं, २ माघ । सरकारले आजदेखि कोरोना महामारीको लडाइँमा अग्रपङ्क्तिमा खटिएकाहरूलाई कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाउँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तीमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई आजदेखि कोरोनाविरुद्ध खोपको बुस्टर मात्रा लगाउने भएको हो ।
पुस २८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारले आजदेखि कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउने तयारी गरेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले हाम्रो डक्टर न्यूजलाई बताए ।
उनले भने, ‘कोरोनाको बुस्टर मात्रा पूर्ण मात्रा खोप लगाएको ६ महिना कटेकाहरूलाई लिएका खोपकै थप एक मात्रा खोप लगाइन्छ । बुस्टर मात्रा लगाउनका लागि सबै प्रदेश र स्वास्थ्य निर्देशनालयलाई परिपत्र गरिसकेका छौं ।’
आजबाट बुस्टर मात्रा लगाउन सुरु हुने र नछुट्ने गरी सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र अन्य कर्मचारीलाई खोपको बुस्टर लगाउने भएकाले अनिवार्य खोप केन्द्रमा गएर खोप लगाउन पनि डा.अधिकारीले बताए ।
उनले थपे, ‘बुस्टर मात्राका लागि छुट्टै खोप नभएकाले पहिले लगाइएकै खोपको थप एक मात्रा लगाइने छ । कोरोनाविरुद्धको बुस्टर लगाउँदा पहिले जुन खोपको पूर्ण मात्रा लगाइएको छ त्यसकै थप एक मात्रा लगाउनुपर्ने भएकाले अन्य कुनै खोपको थप मात्रा नलिन पनि सबैलाई सूचना जारी आग्रह गरिएको छ । पछिल्लो समय फेरि स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित हुन थालेकामा पहिले बुस्टर लगाउन थालिएको हो ।’
सरकारले खोपको बुस्टर मात्रा लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको कार्डपनि अनिवार्य लिएर जान पनि आग्रह गरेको छ ।
सरकारले ६० वर्ष र सोभन्दा माथि उमेर समूहका नागकिलाई भने माघ १४ गतेबाट कोरोनाविरुद्धको खोपकोप बुस्टर मात्रा लगाउने पनि तयारी गरेको छ ।