कोरोना संक्रमणको जोखिम बढेको भन्दै– ‘अति आवश्यक परेमात्र अस्पताल आउन आग्रह’



Download our app to get more features

चितवन, १ माघ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै भरतपुर केन्द्रीय अस्पतालले स्वास्थ्य सावधानी बढाउन र अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले आज एक प्रेस विज्ञप्ति जारी गरी अस्पतालमा भीडभाड हुँदा कोरोना सङ्क्रमणको जोखिम बढी हुने भन्दै सो अपिल गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जिल्लामा कोरोनाको सङ्क्रमणको अनुपात दिन प्रतिदिन बढ्दै गइरहेकाले अस्पतालमा धेरै भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढी हुने जनाइएको छ ।

“काठमाडौंको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएको तथ्याङ्कले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ”, मेसु डा. पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “यस सन्दर्भमा सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीहरू अस्पताल आउने समय पछि सार्नु उपयुत्त हुन्छ ।”

भरतपुर अस्पतालको कोभिड परीक्षण प्रयोगशालामा पछिल्लो दुई दिनको परीक्षणमा देखिएको कोरोना पोजेटिभदर अति उच्च छ । परीक्षण गरिएको मध्ये पुस २९ गते ५५ प्रतिशतमा संक्रमण देखिएको हो ।

अस्पतालका अनुसार १ सय ७२ जनाको परीक्षण गरिएको मध्ये ९५ जनामा पोजेटिभ देखिएको थियो । त्यस्तै, पुस ३० गते परीक्षण गरिएको मध्ये ६१.२५ प्रतिशतमा संक्रमण देखिएको हो । अस्पतालका अनुसार १ सय ८६ जनामा गरिएको परीक्षणमा १ सय १५ जना संक्रमण देखिएको छ ।

देशभर संक्रमितको संख्या बढेसँगै चितवनमा पनि संक्रमणदर ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सक्रिय संक्रमितको संख्या एकसाता बित्न नपाउदैं ४ सय ७३ प्रतिशतले बढेको छ ।

आइतबार जिल्लाभर ८२ जना संक्रिय संक्रमित रहेकोमा शुक्रवार दिउँसोसम्म यो संख्या बढेर ४ सय ७० पुगेको छ । जबकी झन्डै दुइ साता अघि यो संख्या ७० हाराहारी थियो । यसो त अस्पताल भर्ना हुने संक्रमितको संख्या नि दिन प्रतिदिन बढ्दै छ ।

जिल्लामा सक्रिय संक्रमित मध्ये ४ सय ५४ जना होम आइसोलेसन र १६ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् । जबकी बिहीवार जिल्लाका ८ जना मात्र अस्पताल भर्ना भएका थिए ।

Last modified on 2022-01-19 09:15:08

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts