नाकामा खटिएका स्वास्थ्य कर्मचारीले पाएनन् जोखिम भत्ता



Download our app to get more features

धनगढी, १ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिकाले त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट फर्किएका नेपालीको तथ्याङ्क संकलन तथा कोरोना परीक्षणका लागि ८ जना कर्मचारी खटाएको छ।

स्वास्थ्य सहायक, तथ्याङ्क सहायक लगायतका कर्मचारीले दैनिक जोखिम मोलेर सेवा दिँदै आएका छन्। तर उनीहरुले जोखिम भत्ता भने पाएका छैनन्। नगरपालिकाले कोरोना भाइरसको संक्रमणको जोखिम मोलेर सेवा दिने कर्मचारीलाई जोखिम भत्ता दिने बताए पनि जिल्लाको पुनरवास नगरपालिकाले नदिएको त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रमा खटिएका तथ्याङ्क सहायक रामबहादुर बोगटीले बताए।

उनले भने, ‘कोरोना भाइरसको परीक्षण तथा नियन्त्रणमा खटिएकाहरुलाई दिने भनिएको हो। तर हामीले पाएका छैनौं। तलबको आधा रकम दिने भनिएको थियो।’ कोरोना भाइरस नियन्त्रणका लागि पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकीमा खटिएका स्वास्थ्य कर्मचारीले अझै जोखिम भत्ता नपाएको गुनासो गरेका हुन्। पुनरवास नगरपालिकासँग बजेटको अभाव रहेको भन्दै स्वास्थ्य कर्मचारीलाई जोखिम भत्ता नदिइएको हो।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज भट्टले भने, ‘केही कर्मचारीलाई दिइएको रहेछ। कतिले नपाएका पनि रहेछन्। भुक्तानी भएको रकम मलाई जानकारी छैन। तर रकम कम भएकाले सबैले नपाएका हुन्।’ कोरोना भाइरसको पहिलो र दोस्रो लहरको समयमा हजारौ नेपालीहरु स्वदेश फर्किएका थिए। उनीहरुको तथ्याङ्क सङ्कलन तथा कोरोना भाइरसको परीक्षणका लागि स्थानीय तहका स्वास्थ्यकर्मीहरु पहिलो पङक्तिमा थिए।

तर पुनरवास र भीमदत्त नगरपालिकाले खटाएका कर्मचारीले जोखिम भत्ता नपाएका हुन। स्वास्थ्यकर्मीले पाउने तलबको आधा रकम जोखिम भत्ता दिने भनिएकोमा कतिपयले एक रुपैयाँ पनि नपाएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले बताए।

उनले भने, ‘तर भीमदत्त नगरपालिकाले नदिएको पाए। कुन कारणले नदिएको हो, म बुझ्छु।’ धनगढी उपमहानगरपालिकाले त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रमा खटाएका स्वास्थ्यकर्मीलाई भने जोखिम भत्ता वितरण गरेको छ। उनीहरु अहिले पनि सीमा क्षेत्रमा खटिएका गरिएका छन्।

Last modified on 2022-01-15 16:48:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts