कोरोनाका बिरामीले भरिदै अस्पताल : अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने



Download our app to get more features

काठमाडौं, ३० पुस ।  अहिले देखिएको कोरोना भाइरस संक्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकहरुले जनाएको छ । 

संक्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले संक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले बताएका हुन् । 

अस्पतालमा संक्रमितको सख्या बढेपनि जटिल खालका बिरामी नआएको चिकित्सकहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताइन् । ‘अहिले अस्पतालमा उपचार गर्न आएका संक्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन’, उनले भनिन्, ‘६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता परेको छैन ।’ संक्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखिएको छ । 

उनका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष (आइसियु)मा अक्सिजन दिई उपचार गरिएको छ । नौ जना हाई डिपडेन्सी कक्ष (एचडीयु)मा उपचार भइरहेको छ । उनका अनुसार अस्पतालमा भर्ना भएको अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन् । 

अहिले ओमिक्रोन भेरियन्टले मानिसको माथिल्लो स्वासप्रस्वास नलिमा संक्रमण गराई स्वासप्रस्वास गर्नमा समस्या गराउने गर्दछ । यसअघिका डेल्टा भेरियन्टले तल्लो स्वासप्रस्वास नलि वा फोक्सासम्म संक्रमण गराउने गर्दथ्यो । टेकु अस्पतालमा हिजो पुस २९ गते १५ जना बिरामी आएकामध्ये १० जनालाई कोभिड–१९ संक्रमण भएको थियो । अस्पतालका निर्देशक डा रावलले संक्रमित बढिरहेकाले अबको दुई हप्ता चुनौतीपूर्ण रहेको बताए । ‘ओमिक्रोन भेरियन्टले कस्तो रुप लिन्छ । त्यसैको आधारमा अवको दुई हप्ता चुनौतीपूर्ण हुने देखिन्छ’, उनले भने । 

Last modified on 2022-01-15 12:10:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts