बेलायतमा नेपाली नर्स पठाउने विषयमा शुक्रबार दुई देशबीच  छलफल हुँदै



Download our app to get more features

काठमाडो, ३० पुस । बेलायतमा नेपाली नर्सलाई पठाउने विषयमा छलफलका लागि दुई देशबीच पहिलो चरणको बैठक बस्दै छ।
बेलायत सरकारको प्रस्ताव अनुसार नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन नेपाल सरकारका प्रतिनिधि र बेलायत सरकारका प्रतिनिधिबीच शुक्रबार पहिलो चरणको बैठक बस्न लागेको बताइएको छ । 

बेलायतले नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने भन्दै श्रम सम्झौता गर्ने प्रस्ताव गरेपछि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले यसअघि आन्तरिक छलफल गरेको थियो। 
मन्त्रालयले सो विषयमा आन्तरिक छलफल गरेपछि केही सर्त तथा आफ्नो प्रस्तावहरु तय गरेको छ।

दुई देशबीच छलफल भएपछि नेपाली नर्स पठाउने प्रक्रिया कस्तो हुने भन्ने तय गरिने मन्त्रालयले बताएको छ । सोही बैठकले नेपाली नर्स बेलायत पठाउने प्रक्रियाबारे निर्देशिका बनाउने विषयमा पनि छलफल हुने छ।

नेपाल सरकारले इजरायलमा नेपाली श्रमिक पठाउन अपनाएको मोडालिटी राम्रो लागेको र सोही प्रक्रिया अनुसार नेपाली नर्स पठाउन बेलायतले माग गरेको हो । 

कुन तहका नर्स कसरी पठाउने? कस्तो नर्सिङ जनशक्ति चाहिएको हो? त्यसबारे शुक्रबारको बैठकमा छलफल हुँदैछ। 

बेलायत सरकारले रोजगारीका लागि जाने नर्सहरुले इन्टरनेसनल इंग्लिस ल्यांग्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस)मा ७ अंक प्राप्त गर्नुपर्नेे प्रस्ताव यसअघि नै गरिसकेको छ। तर नेपालले भने ६ वा ६ दशमलब ५ प्रतिशत अंकलाई पनि मान्यता दिन प्रस्ताव गर्ने तयारी गरेको छ।

बेलायतमा वर्किङ भिषामा जाने नेपाली नर्स ५ वर्ष मात्रै काम गर्न र त्यसपछि नेपाल फर्कनुपर्ने सर्त नेपालले तय गरेको छ।

बेलायतमा श्रमिक भिषामा जान योग्य नर्सिङ जनशक्तिले शून्य लागत कायम हुनुपर्ने व्यवस्थाका लागि दुई देशबीच छलफल गरिदैंछ।

वर्किङ भिषामा बेलायत पुग्ने नर्सिङ जनशक्ति बेलायतको नेशनल हेल्थ सर्भिस अर्थात त्यहाँको सरकारी अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्न पाउने बेलायतले प्रस्ताव गरिसकेको छ।

नेपाल सरकारले लगानी गरेका नर्सिङ कलेजहरुको क्षमता बढाउन सहयोग गर्नुपर्ने र छात्रवृत्ति प्रदान गरी नर्सिङ जनशक्तिको उत्पादन बढाउन पनि सहयोग गर्नुपर्ने माग नेपालले तयारी गरेको छ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts