धनगढीका स्वास्थ्य संस्थामा औषधि अभाव



Download our app to get more features

धनगढी, ३० पुस । धनगढी उपमहानगरपालिका अन्तरगत रहेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। यसपटक पनि स्थानीय तह मातहत रहेका १६ वटा स्वास्थ्य संस्थामा औषधि अभाव देखिएको हो। शहरी स्वास्थ्य केन्द्रसँगै स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा समेत आवश्यक औषधि पाइने गरेको छैन।

जसकाकारण घरदैलो नजिकबाट स्वास्थ्य सेवा पाउने आशामा बसेका स्थानीय समस्यामा परेको धनगढीका चन्द्र बोहराले बताए। ‘घर नजिकै स्वास्थ्य संस्था भएपनि आवश्यक औषधि पाइदैँन। सामान्य औषधि खरिद गर्नका लागि मेडिकल जानुपर्ने बाध्यता छ’, उनले भने।

अहिले धनगढीका स्वास्थ्य संस्थामा दीर्घ रोगीका लागि आवश्यक पर्ने र अन्य औषधिको समेत अभाव छ। स्वास्थ्य संस्थामा औषधि नहुँदा सामान्य स्वास्थ्य सेवाका लागि पनि मेडिकल तथा धनगढी बजार पुग्नुपर्ने बाध्यता छ। स्वास्थ्य संस्थालाई आवश्यक पर्ने औषधि समयमै खरिद गरेर उपलब्ध गराउन बेवास्ता भइरहेको छ। धनगढी वडा नम्बर ७ बेलीमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका जनस्वास्थ्य अधिकृत जानकी पराजुलीले पनि बिरामीको चाप बढेका बेला केही औषधी अभाव हुने गरेको बताइन्। ‘दीर्घ रोगीका लागि आवश्यक पर्ने औषधि अभाव हुने गरेको छ। अन्य केही औषधि पनि समयमा उपलब्ध हुने गरेको छैन’, उनले भनिन्। 

धनगढीका स्वास्थ्य संस्थालाई आवश्यक पर्ने औषधि भने स्टोरमा थन्किएको छ। मातहतका निकायलाई वितरण गर्नुपर्ने औषधी खरिद गरेर थन्काइएको हो। प्रक्रियागत ढिलाइका कारण अबको एक हप्ताभित्र सबै स्वास्थ्य संस्थामा औषधि उपलब्ध हुने दाबी धनगढी उपमहानगरपालिकका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराको छ। उनले भने, ‘खरिद गरेको औषधिको विवरण राख्ने काम भइरहेको छ। प्रक्रियागत ढिलाइका कारण केही समय लागेको हो’, उनले भने।

Last modified on 2022-01-14 10:55:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts