चितवनमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, दुई दिनमा सक्रिय संक्रमित ९८ प्रतिशतले बढे



Download our app to get more features

चितवन, २८ पुस । देशभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै चितवनमा पनि संक्रमणदर ह्वात्तै बढेको छ । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार सक्रिय संक्रमितको संख्या २ दिनमै ९८ प्रतिशतले बढेको छ । आइतबार जिल्लाभर ८२ जना संक्रिय संक्रमित रहेकोमा सोमबार दिउँसोसम्म यो संख्या बढेर १ सय १९ पुगेको थियो । यो संख्या मंगलबार बढेर १ सय ६२ पुगेको छ । जबकी डेढ साता अघि यो संख्या ७० हाराहारी थियो ।

सक्रिय संक्रमित मध्ये १ सय ५५ जना होम आइसोलेसन र ७ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् ।

नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या २७ हजार ३ सय ६८ पुगेको छ । संक्रमित हुनेमा १४ हजार ७ सय ६ जना पुरूष र १२ हजार ६ सय ४८ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म २६ हजार ७ सय ६९ जना निको भइसकेका छन् । त्यस्तै, जिल्लाभर संक्रमित मध्ये अहिलेसम्म ४ सय ३७ जनाको मृत्यु भएको छ ।

अस्पतालमा तयारी र खोपलाई तीव्रता

जिल्लामा संक्रमणदर बढेसँग यहाँका अस्पताल तथा स्वास्थ्य संस्थाले नियन्त्रण र उपचारको लागि तयारीलाई तीव्रता दिएका छन् । त्यस्तै, जिल्लामा यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका सबैलाई आज र भोलि कोरोनाविरुद्धको खोप लगाइँदै छ ।

पुस २८ र २९ गते भरतपुर महानगरपालिका भित्रका सबै केन्द्रबाट कोरोनाविरुद्धको खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

उपलब्धताको आधारमा भेरोसेल, एस्ट्राजेनेका वा कोभिशिल्ड खोप लगाउने छ ।

उनीहरुले आफ्नो घरपायक पर्ने खोप केन्द्र (स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी) मा पुगेर खोप लगाउन सक्ने कार्यालयले जनाएको छ । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य लैजानु पर्नेछ । 

खोप लगाउन जाँदा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू राम्रोसँग पालना गर्न समेत कार्यालयले सबैमा अनुरोध गरेको छ ।

संक्रमण फैलने डरले सबै मेला–महोत्सव रोकियो 

कोरोना संक्रमणदर बढ्न थालेपछि जिल्लामा भईरहेका र हुने तयारीमा रहेका सबै मेला–महोत्सव बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा सोमबार बसेको सर्वपक्षीय बैठकले सबै मेला–महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई भने व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ । सो महोत्सव आज २९ गतेदेखि पूर्णरुपमा बन्द हुने प्रशासनले जनाएको छ । त्यस्तै, सञ्चालनको तयारीमा रहेको रत्ननगर महोत्सव, खैरहनीमा हुने खिचरा महोत्सव र देवघाटमा हुने माघे संक्रान्ति मेला समेत अब नहुने भएको छ ।

संक्रमित हुनबाट बच्न र सक्रमणदर फैलन नदिन के गर्ने ?
जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै चिकित्सकले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2022-01-12 11:25:13

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts