चितवनमा कोरोना संक्रमणदर डरलाग्दो, सबै मेला–महोत्सव रोकियो



Download our app to get more features

चितवन, २७ पुस । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या फेरि एक्कासि डरलाग्दो तरकारीले उकालो लाग्दै छ । स्वास्थ्य कार्यालय चितवनको पछिल्लो तथ्याङ्क अनुसार सक्रिय संक्रमितको संख्या एकैदिन ४५ प्रतिशतले उकालो लागेको हो ।

दुई दिन अघिसम्म जिल्लाभर ८२ जना संक्रिय संक्रमित रहेकोमा मंगलबार दिउँसोसम्म यो संख्या बढेर १ सय १९ पुगेको छ । डेढ साता अघि यो संख्या ७० हाराहारी थियो ।

कुन स्थानीय तहमा कति छन् सक्रिय संक्रमित ?

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा ८० जना छन् । त्यस्तै, अन्य स्थानीय तहमा खैरहनी नगरपालिकामा ६, कालिका नगरपालिकामा ११, राप्ती नगरपालिकामा ५, माडी नगरपालिकामा ६, रत्ननगर नगरपालिकामा १० जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, इच्छाकामना गाउँपालिकामा भने सक्रिय संक्रमित १ जना मात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो मंगलबार दिउँसोसम्मको तथ्याङ्क हो । सक्रिय संक्रमित मध्ये १ सय १२ जना होम आइसोलेसन र ७ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् ।

कुल संक्रमितको संख्या २७ हजार नाघ्यो

मंगलबार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या २७ हजार ३ सय २१ पुगेको छ । संक्रमित हुनेमा १४ हजार ६ सय ८० जना पुरूष र १२ हजार ६ सय २७ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म २६ हजार ७ सय ६५ जना निको भइसकेका छन् ।

त्यस्तै, जिल्लाभर संक्रमित मध्ये अहिलेसम्म ४ सय ३७ जनाको मृत्यु भएको छ । संक्रमित हुनबाट बच्न कस्ता सावधानी अपनाउने जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै चिकित्सकले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनीहरूले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

सबै मेला–महोत्सव रोकियो

कोरोना संक्रमणदर बढ्न थालेपछि जिल्लामा भईरहेका र हुने तयारीमा रहेका सबै मेला–महोत्सव बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा सोमबार बसेको सर्वपक्षीय बैठकले सबै मेला–महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले चालु अवस्थामा रहेको चितवन महोत्सवलाई भने व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ । सो महोत्सव २९ गतेदेखि पूर्णरुपमा बन्द हुने प्रशासनले जनाएको छ । त्यस्तै, सञ्चालनको तयारीमा रहेको रत्ननगर महोत्सव, खैरहनीमा हुने खिचरा महोत्सव र देवघाटमा हुने माघे संक्रान्ति मेलालगाएत अन्य मेला–महोत्सव समेत अब नहुने भएको छ ।

Last modified on 2022-01-11 10:21:53

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts