सुदूरपश्चिम फर्केका नागरिक सिधै घर जाँदा कोरोना फैलिने त्रास
धनगढी, २४ पुस । सुदूरपश्चिममा कोरोना संक्रमणको दर फेरि बढ्न थाले पनि तीन तहका सरकारको तयारी भने निकै सुस्त छ। स्थानीय प्रदेश र संघीय सरकारले सबैभन्दा बढी जोखिममा रहेको प्रदेशमा कोरोना भाइरसको संक्रमण रोक्नका लागि पर्याप्त तयारी गर्न नसकेका हुन्।
तर कोरोनाको संक्रमण बढेसँगै अवस्था भयावह हुन नदिन संघ, प्रदेश तथा स्थानीय तहले समन्वय गरेर काम गर्ने योजना बनाउन भने थालिएको छ। भारतबाट आउने व्यक्तिहरूमा संक्रमण देखिन थालेपछि सीमा नाकामा स्वास्थ्य परीक्षणमा कडाइ गर्नुका साथै क्वारेन्टिन र होल्डिङ सेन्टररको व्यवस्थापन गरिने बताइएको छ। कोरोना भाइरसविरुद्ध खोप लगाउने अभियानलाई निरन्तरता दिइएकोमा भारतबाट फर्कने नागरिकको व्यवस्थापन र फेरि समुदायस्तरमा संक्रमण बढ्न नदिनका लागि पर्याप्त तयारी गर्नुपर्ने देखिएको छ।
तर सीमा क्षेत्रमा स्थानीय प्रशासनले व्यवस्थापन गर्ने र संक्रमितलाई अलग्याउन तथा उपचार गर्ने विषयमा तीनै तहको सरकारले समन्वय गरेर काम गर्ने तयारी भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। ‘प्रदेशले समन्वयकारी भूमिका निर्वाह गर्ने, संघ सरकारले होल्डिङ सेन्टर व्यवस्थापनसहित थप सहयोग गर्नुपर्ने देखिएको छ’ उनले भने, ‘स्थानीय तहले आइसोलेसन हेर्ने गरी काम गर्ने समजदारी भएको छ।’ प्रदेश सरकारले कोरोना बढेसँगै नियन्त्रणका लागि प्रयास थालेको दाबी गरेको छ। सीमा नाकाबाट आउने व्यक्तिमा लक्षणसहित संक्रमण देखिए धनगढीको सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरको महाकाली अस्पताल र टीकापुर अस्पतालमा उपचारको व्यवस्था मिलाइएको दाबी सामाजिक विकास मन्त्री लालबहादुर खड्काको छ। ‘
लक्षणसहितका संक्रमितलाई सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टीकापुर अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाएका छौँ’ उनले भने, ‘लक्षण नभएकालाई भने स्थानीय प्रशासन र पालिकासँग समन्वय गरेर घरमै एकान्तबास बस्ने गरी पठाउने व्यवस्था मिलाउछौँ।’ अहिले लक्षणसहितका व्यक्तिमा संक्रमण भएपछि मात्र आइसोलेसनमा राख्ने गरिएको छ। अन्यलाई भने सोझै घर जान अनुमति दिइकाले जोखिम झन बढेको छ। उनीहरु सिधै घर जाने परिपाटीले समुदायमा कोरोना फैलिने डर भएको स्वास्थ्य अधिकारीले बताएका छन्।
विगतमा स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिन र संघीय सरकारले नेपाली सेनामार्फत निर्माण गरेका होल्डिङ सेन्टरको सञ्चालन गरेर संघ, प्रदेश सरकार र स्थानीय तहको प्रयासमा कोरोना संक्रमण रोक्ने योजना प्रदेश सरकारले अघि सारेको छ।