ओमीक्रोन बढेपछि गण्डकीमा कडाइ, मेला-महोत्सव गर्न नपाइने



Download our app to get more features

पर्वत, २४ पुस ।  कोरोना भाइरस सङ्क्रमण बढ्दै जाँदा तथा ओमीक्रोन सङ्क्रमित थपिँदै गएपछि सङ्क्रमणलाई नियन्त्रणमा राख्नको लागि गण्डकी प्रदेश सरकारले कडाइ गर्ने तयारी गरेको छ।

सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमीक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्तै थाल्न निर्देशन दिएपछि गण्डकी प्रदेशमा पनि कडाइ गर्ने तयारी गरिएको हो।

यसका लागि सुरुवाती चरणमा सीमा नाकामा चेकजाँचलाई कडाइ गर्न तयारी गरिएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारी गुरुङसहितको बैठकमा ओमीक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामग्री, जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिन्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिइएको छ।

बैठकमा सहभागी सचिव डा विनोदविन्दु शर्मालाई निर्देशन दिँदै मन्त्री गुरुङले सङ्क्रमणको जोखिम बढ्दै गएका कारण प्रदेशमा आयोजना गर्ने सबै खाले मेला तथा महोत्सव बन्द गर्न सम्बन्धित निकायमा कुराकानी गर्न भनेकी छिन्। 

मानिसको स्वास्थ्यभन्दा ठूलो अरू कुरा नभएकाले आवश्यक परे स्मार्ट लकडाउनमा पनि जान पर्ने अवस्था आउने मन्त्रालयका सचिव डा शर्माले बताए। उनका अनुसार यसअघि गरिएको हेलो डाक्टर, कोरोना अपडेट लगायतका कामहरू पनि प्रदेशले पुन सुरु गर्न लागेको छ। ‘मानिसको स्वास्थ्य भन्दा अरू कुरा ठूलो हुन सक्दैन। सङ्क्रमणको अवस्था बढ्दै गइरहेको छ, ओमीक्रोन सङ्क्रमितहरू पनि बढिरहेको अवस्था छ,’ उनले भने, ‘अब सङ्क्रमणको अवस्था हेरेर स्मार्ट लकडाउनमा जानुपर्ने बेला पनि आउन सक्छ। मेला महोत्सव आयोजना गर्ने अवस्था अब रहँदैन।’

मन्त्रालयको ग्राफअनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन्।

Last modified on 2022-01-08 16:17:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts