नेपालमा फलिदै ओमिक्रोन, के छ सरकारको तयारी ?
काठमाडौं,२४ पुस । नेपालमा पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन सङ्क्रमण फैलिने क्रम बढेको छ । शुक्रवार एकैदिन २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको सरकारले बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पुसमा संकलित १ हजार १ सय ४६ पोजिटिभ नमूनाहरुको एस जिन सिक्वेन्सिङ गर्दा २ सय ५० वटा अर्थात २२ प्रतिशतमा एस जिन नेगेटिभ पत्ता लागेको हो ।
यसअघि नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मंसिर २० गते २ जना विदेशी नागरिकमा पुष्टि भएको थियो ।
ओमिक्रोन पुष्टि भएसँगै नेपालमा अहिले कोरोना संक्रमणको दर पनि बढ्दै गइरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार पुस २३ गते १४ हजार ९ सय ७१ जनामा कोरोना परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण देखियो । यो संख्या केहि दिन अघिको तुलनामा धेरै हो ।
मन्त्रालयको तथ्याङ्क हेर्दा पुस २० गतेसम्म दुई सय माथि सङ्क्रमितको संख्या रहेको थियो । तर उक्त संख्या करिब दुई गुणाले बढ्दै २१ गते ४ सय ३५ पुगेको थियो भने पुस २२ गते ५ सय ४० र २३ गते ९ सय ६८ संख्या थपिए ।
तर कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको देखिएपनि कोरोनाका कारण मृत्यु हुनेको संख्या भने स्थिर देखिन्छ ।
के भन्छ स्वास्थ्य मन्त्रालय ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा।संगीता मिश्रा नेपालमा जिन सिक्वेन्सिङ जिन नेगेटिभ आउने संख्या बढ्न थाल्नु नै ओमिक्रोन संक्रमित बढन थाल्नु भएको बताउछिन् ।
उनले जोखिम बढ्न थालेको भन्दै भयावह स्थिति आउन नदिन पूर्व तयारी थालिएको बताइन् ।
मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुन सक्ने अत्याधिक बिरामीहरुको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन,उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामग्रीहरुको यथेस्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।
सीसीएमसीसीसीको बैठक के भयो छलफल ?
नेपालमा पुस २३ गते २४ जनामा ओमिक्रोन पुष्टि भएपछि साझ प्रधानमन्त्री देउवा नेतृत्वको सीसीएमसीसीसी निर्देशक समितिको बैठक बसेको थियो ।
सीसीएमसीसीको बैठकमा संक्रमणले भावी दिनमा निम्त्याउन सक्ने जोखिम र त्यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा छलफल भएको अधिकारीहरूले बताएका छन् ।
स्वास्थ्यसहित विभिन्न मन्त्रालय र सुरक्षा निकायका प्रतिनिधि सम्मिलित बैठकमा प्रधानमन्त्रीले तीन निर्देशन दिएको थिए ।
प्रधानमन्त्रीको पहिलो निर्देशन सतर्क रहने र स्वास्थ्यको मापदण्ड अपनाउने कुरामा थप जनचेतना फैलाउनुपर्ने रहेको थियो ।
त्योसँगै प्रधानमन्त्री देउवाले खोप अभियानलाई तीव्र बनाउनुपर्ने धारणासहित अर्को निर्देशन दिएका थिए ।
त्यस्तै प्रधानमन्त्रीकोे तेस्रो निर्देशनमा भविष्यमा कोभिड–१९ महामारीका कारण देखा पर्नसक्ने जोखिमलाई ध्यान दिएर पूर्वतयारी अघि बढाउनुपर्ने थियो ।
त्यसका लागि अस्पतालहरूमा अक्सिजनलगायत अरू सामग्रीहरू तयार अवस्थामा राख्न र होल्डिङ सेन्टरहरूको व्यवस्थापन गर्न सुझाव दिएका थिए ।
लकडाउन हुने सम्भावना कति ?
शुक्रबार बसेको सीसीएमसीसीसीको बैठकमा नेपालमा कोरोनाभाइरसको संक्रमणदर दर वृद्धि र आउनसक्ने जोखिमको बिषयमा हप्ताको १ दिन सीसीएमसीसीसीको बैठक राखेर छलफल गरिने अधिकारीहरु बताउछन् ।
तर, लकडाउन वा यात्रामा निषेधाज्ञा लगाउने विषयमा छलफल भए या भएनन् भन्ने विषय बाहिर ल्याइएको छैन ।
शुक्रवारको बैठकमा नेपालले विभिन्न सम्भावित कदमहरूबारे छलफल भएको भने बताइएको छ ।
यसअघिको लहरहरुमा पनि नेपाल सरकारले आफ्नो जिल्लाको अवस्था हेरेर मापदण्ड तय गर्न तलका निकायहरूलाई निर्देशन दिएको थियो भने तेस्रो देश वा भारतबाट आउनेहरूलाई १० दिन घरभित्रै एक्लिएर बस्न आग्रह गरेको थियो ।