कोरोना संक्रमित बढेपछि तुलसीपुरमा विद्यालय बन्द
दाङ, २३ पुस । दाङकाे तुलसीपुर उपमहानगरपालिकाको शुक्रबार बसेको बैठकले उपमहानगरपालिका भित्रका सबै विद्यालय पुस २५ देखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले तुलसीपुर क्षेत्रका विद्यालयका शिक्षक र विद्यार्थीहरुमा दिनप्रतिदिन कोरोना संक्रमण देखिन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हाे ।
तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार तुलसीपुरका ५ विद्यालयका शिक्षक र विद्यार्थीहरूमा कोरोना संक्रमण देखिएको थियो ।
तुलसीपुरमा ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालय रहेका छन् ।
तुलसीपुरमा विहीबार मात्रै ७ जना स्वास्थ्यकर्मीसहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
तुलसीपुरको मावि सेन्टरका विद्यार्थी शिक्षक र कार्यालय सहयोगी गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी तुलसीपुरको गुरुजजुर मावि रक्षाचौरका ११ जना, जनता सस्कृत मावि बिजौरीका १ जनामा कोरोना पुष्टि भएको छ ।
शुक्रबार मात्रै ८१ जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ४ जना विद्यार्थी, ५ जना शिक्षक, २ जना स्वास्थ्यकर्मी, एक जना कर्मचारी र एकजना पत्रकार समेत रहेका छन् ।