अतिरिक्त शुल्क विवाद : विद्यार्थी संगठनद्वारा नोवेल मेडिकल कलेज तोडफोड
काठमाडौं,२१ पुस । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा तोडफोड भएको छ ।
एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन नोवेल पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नोवेलमा तोडफोड गरेका हुन् ।
विद्यार्थीहरुले कलेजको गेट फोडेर चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन् । नोवेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन् । विद्यार्थी संगठनहरुले नाराबाजी जारी राखेका छन् ।
अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ ।
केहिदिन अघिदेखि कलेजले लिएको अतिरिक्त शुल्कको बिषयमा विद्यार्थीहरुले आन्दोलन गर्दै आइरहेका थिए ।
Last modified on 2022-01-05 16:53:21