केन्द्रीय मानसिक अस्पताल: बिरामी भर्ना गर्न पालो कुर्नुपर्ने बाध्यता

What's This?


Download our app to get more features

काठमाडौं,२१ पुस । नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढ्न थालेको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा एकदिनमा कम्तीमा २० जनाले आत्महत्या गर्ने गरेको छ । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन् ।

यसले नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या बढीरहेको देखाएको छ । यसरी दैनिक रुपमा आत्महत्या गर्नेको सङ्ख्या बढीरहेको भएपनि नेपालमा मानसिक स्वास्थ्य हेर्ने अस्पताल एउटै मात्र छ । हुनत नेपाल सरकारले प्रत्येक अस्पतालले मानसिक स्वास्थ्यलाई १० बेड छुट्टाउनुपर्ने भनेको छ । तर, त्यसको प्रभावकारी रुपमा कार्यन्वयन भएको भने देखिँदैन् ।

नेपालमा पहिलोपटक २०४० सालमा मानसिक अस्पताल पाटनको स्थापना गरिएको थियो । त्यसबेला ५० बेड रहेको अस्पतालमा अझैपनि बेड सङ्ख्या भने बढेको छैन् ।

यस्तो छ अस्पतालको अवस्था :

मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिक बासुदेव कार्कीका अनुसार अस्पतालमा दैनिक १ सय २० देखि १ सय ४० जना जति बिरामीहरु आउने गर्दछन् । ती बिरामीहरू प्राय: निजी अस्पतालमा खर्च गर्न नसक्ने वर्गका पर्दछन् ।

दैनिक आउने यतिका बिरामीलाई कसरी व्यवस्थापन गर्नुभएको छ भन्ने प्रश्नमा कार्की भन्छन्,'दैनिक आउने सबै बिरामीहरूलाई भर्ना गर्नुपदैन्,तर भर्ना गर्नुपर्ने बिरामीहरूलाई भने भर्ना गर्न नसकिरहेको अवस्था छ।' दैनिक आउने बिरामीहरु मध्ये ४ देखि ५ जना भर्ना गर्ने खालका बिरामीहरू आउने उनी बताउछन् । तर, बेड खाली नहुँदा बिरामीहरुलाई निरन्तर सम्पर्कमा रहनु,बेड खाली भएपछि प्राथमिकतामा राखेर भर्ना गराउँछौ भनेर फर्काउनु पर्ने बाध्यता रहेको कार्कीको भनाइ छ ।

यदि तत्काल भर्ना गर्नुपर्ने अवस्थाको बिरामी भएमा अन्य अस्पतालमा रिफर गर्ने गरेको उनी बताउँछन् । यस्तो छ अस्पतालमा आउने बिरामीको सङ्ख्या साइक्याट्रिक कार्कीका अनुसार अस्पतालमा मानसिक स्वास्थ्यको सामान्य समस्या भन्दा पनि कडा प्रकृतिका समस्या भएका बिरामीहरू धेरै आउने गरेका छन् ।

अस्पतालको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७३/७४ मा इमर्जेन्सीमा ४ सय ४७,अन्तरङ्गमा ८ सय १ र बहिरङ्गमा ३३ हजार ४ सय ९४ जना बिरामीहरूले सेवा लिएका छन् । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा इमर्जेन्सीमा ६ सय ४१, अन्तरङ्गमा ७ सय ८४ जना र बहिरङ्गमा ३६ हजार ७ सय ४५ जनाले सेवा लिएका छन्, आर्थिक वर्ष २०७५/७६ मा इमर्जेन्सीमा ६ सय ६१ जना, अन्तरङ्गमा १ हजार ५ सय २७ जना र बहिरङ्गमा ३५ हजार ७ सय ४७ जनाले सेवा लिएका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा इमर्जेन्सीमा ७ सय ८२ जना, अन्तरङ्गमा ६ सय ४३ जना र बहिरङ्गमा ३५ हजार ८ सय १ जनाले सेवा लिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा इमर्जेन्सीमा ६ सय ८५ जना, अन्तरङ्गमा ५ सय ७९ जना र बहिरङ्गमा २८ हजार २ सय २ जनाले सेवा लिएका छन् । अस्पतालको तथ्याङ्कलाई हेर्ने हो भने मानसिक स्वास्थ्यको बिरामीको सङ्ख्या वर्षेनि बढेको देखिन्छ ।

Last modified on 2022-01-10 06:32:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts