पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं, २१ पुस । पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो।
निमित्त मेडिकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए। अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ।
मेडिकल सुपरिटेन्डेण्टसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो। उनीहरु सबै आइसोलेशन बस्नु परेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए। पाल्पामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ।