रेडक्रसमा तदर्थमाथि तदर्थ समिति, पुरानोको आपत्ति



Download our app to get more features

काठमाडौं, २० पुस । नेपाल रेडक्रस सोसाइटीको तत्कालिन तदर्थ समितिले नयाँ तदर्थ समिति निर्माण गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

तदर्थ समितिका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले आइतबार विज्ञप्ति जारी गर्दै विधान विपरीत जबरजस्ती नयाँ  तदर्थ समिति गठन गरिएको भन्दै आपत्ति जनाएका हुन्।

‘विधान अधिवेशन गरी रुपान्तरणसहित निर्वाचन अधिवेशन गरेर निर्वाचित समितिलाई हस्तान्तरण गर्ने योजनाअनुसार अगाडि बढिरहेको वर्तमान तदर्थ समिति विरुद्ध भएको सत्ता राजनीतिको खेलको घोर भत्सर्ना गर्दछौं’,अध्यक्ष तिम्सिनाले विज्ञप्तिमार्फत् भनेका छन्,  'रेडक्रस जस्तो मानवीय र सामाजिक संस्थाको एकता, स्वायत्तता र स्वतन्त्रता माथि हुने आक्रमणलाई रोक्नका निम्ति सबै रेडक्रसकर्मी, सरोकारवाला, अन्तराष्ट्रिय महासंघ, साझेदार संस्थाहरु र आम जनसमुदायलाई आवाज बुलन्द गर्न हार्दिक आह्वान गर्दछौं।'

उनले आफूहरूले विधान संशोधनका लागि ५ पटक महाधिवेशन आव्हान गरेपनि स्वार्थ समूहका कारण महाधिवेशन हुन नपाएको समेत उल्लेख गरेका छन् ।

‘विधान संशोधनमार्फत हुने संस्थागत रुपान्तरणको अभियानलाई विफल बनाइयो, विधान शंसोधनको लागि आयोजना गरिएको विशेष अधिवेशन गुण्डागर्दी शैलीमा स्वार्थ समूहले बिथोल्यो, महाधिवेशन स्थलमा आतंक सृजना गरी रेडक्रसका सामानहरु लुटपाट गरियो,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले ०७७ को साउन १२ गते तिम्सिना नेतृत्वमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो। तर, शेरबहादुर देउवा नेतृत्वको सरकारले सो समितिले काम गर्न नसकेको भन्दै नयाँ तदर्थ समिति गठन गरेको हो। 

Last modified on 2022-01-05 08:07:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts