एकैदिन ३ लाख बढीले लगाए कोरोनाविरुद्वको खोप,थप २ जनाको मृत्यु
काठमाडौं,१९ पुस। नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९८ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा १२ हजार ४ सय ९८ कोरोना परीक्षण गरिएको छ । जसमा ९ हजार ७ सय आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ९१ जना र २ हजार ७ सय ९८ एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २९ हजार २ सय ७७ र एन्टीजेन विधिबाट ९६ हजार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ५५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार ६ सय ७४ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा ३ लाख ४४ हजार ४४ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।