गत २४ घन्टामा १ लाख बढीले लगाए कोरोनाविरुद्वको खोप,थप २ जनाको मृत्यु
काठमाडौं,१८ पुस। नेपालमा कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका संक्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९६ पुगेको छ ।
यस्तै गत २४ घन्टामा देशभर २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ७ हजार ६ सय ३१ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार ९ सय ६२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय १३ जना र १ हजार ६ सय ६९ एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख २८ हजार ९ सय ८६ र एन्टीजेन विधिबाट ९६ हजार २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ सय ९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार ४ सय १९ पुगेको छ ।
त्यसैगरी गत २४ घण्टामा १ लाख ३३ हजार ८ सय १२ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।