विदेशमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीले अप्ठ्यारोमा नेपालमै पढ्न पाउने
काठमाडौं,१६ पुस । अब विदेशमा चिकित्सा शिक्षाका स्नातक तह पढ्न गएका विद्यार्थी अप्ठ्यारो परेका बेलामा नेपालमै अध्ययन गर्न पाउने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा चीनलगायतका मुलुकमा भर्ना भएका नेपाली विद्यार्थीलाई नेपालमै पढ्न पाउने गरी सैद्धान्तिक सहमति दिएको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
यो स्वीकृतिसँगै कोरोनाका कारण चीनलगायत विभिन्न देशमा भर्ना भएका तर जान नसकेका विद्यार्थीहरुले नेपालमै बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप नेपालमै गर्न पाउने भएका छन् ।
केहि समय अघिदेखि चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुले नेपालमा नै बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसीपको माग गर्दै प्रदर्शन गरिरहेका थिए ।