सुदूरपश्चिमका १५ प्रतिशत नागरिकले मात्रै गरे स्वास्थ्य बिमा



Download our app to get more features

धनगढी, १५ पुस । ०७२ चैत २५ गतेदेखि कैलाली जिल्लाबाट सुरु गरीएको स्वास्थ्य बिमा कार्यक्रम अहिले सुदूरपश्चिमका सबै जिल्लामा विस्तार भइसकेको छ। तर उपचार र औषधी सहजै नपाउने समस्याका कारण स्वास्थ्य बिमा प्रतिको विश्वास अपेक्षाकृत रुपमा बढ्न नसकेको हो।

अधिकाशंलाई त अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रमबारे जानकारी पनि छैन। स्वास्थ्य बिमाबारे जानकारी नै नभएको उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुगेका धनगढीका भुवन टमटाले बताए।

‘बिमाबारे अहिलेसम्म सुनेको नै छैन,’ उनले भने, ‘स्वास्थ्य बिमा गर्नुपर्छ भन्ने जानकारी पनि छैन। ग्रामिण भेगहरुमा पनि जनचेतना जगाउन आवश्यक छ।’ स्वास्थ्य बिमा कार्यक्रम लागु भएको ६ वर्षको अवधिमा सुदूरपश्चिमका झण्डै १५ प्रतिशत नागरिक मात्रै आवद्ध छन्।

स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिका अनुसार ४ लाख ५ हजार ४९४ जना मात्रै प्रदेशमा बिमित छन्। उनीहरुमध्ये ७३ प्रतिशतले मात्रै नविरकण गरेका छन्।

तर कतिपय बिमितले भने स्वास्थ्य बिमा प्रभावबारी भएको पनि दाबी गरेका छन्। स्वास्थ्य बिमा गर्दा सहुलियत पाएको सेती प्रादेशिक अस्पतालमा उपचारका लागि बाजुरबाट आएका सुरेन्द्र खत्रीले बताए।

उनले भने, ‘स्वास्थ्य बिमा गरिवहरुका लागि राम्रो छ। हामीले पछि बुझ्यौँ। नेपाल सरकारले राम्रो गरेको छ।’ स्वास्थ्य बिमा गरेबापत बिमितहरुले एक लाखसम्मको उपचार तथा औषधि निशुल्क पाउने गरेका छन्। त्यसका लागि ५ जनाको परिवारले तीन हजार ५ सय प्रिमियम तिर्नुपर्छ भने त्यसपछि प्रतिव्यक्ति ७ सय तिर्नुपर्छ।

स्वास्थ्य बीमा बोर्डले ज्येष्ठ नागरिक, क्षयरोग, कुष्टरोग, रातो कार्ड भएका अपाङ्गता भएका व्यक्ति, असहाय, एचआइभी संक्रमीत लगायतहरुका लागि निशुल्क स्वास्थ्य बिमा गर्दै आएको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिका संयोजक जनक साउँदले बताए। उनले स्वास्थ्य बिमा सामाजिक सुरक्षाका कार्यक्रम रहेको बताए।

उपचारका लागि सरकारी मात्रै नभएर निजी अस्पतालसंग पनि सम्झौता गरेको उनले बताए। उनले भने, ‘सुचिकृत निजी अस्पतालबाट पनि सेवा सुविधा लिन पाइने छ।’ प्रदेशमा सबैभन्दा बढी कैलालीमा दुई लाख १३ हजार ४६४ र अछामका ४३ हजार एक सय ५० जनाले स्वास्थ्य बीमा गरेका छन्। सबैभन्दा कम डोटीका पाँच हजार नौ सय ८५ जना मात्र स्वास्थ्य बिमा कार्यक्रममा समावेश भएका छन्।

बैतडीमा १९ हजार १२०, बाजुरामा ३१ हजार ३१५, दार्चुलामा नौ हजार ४७०, कञ्चनपुरमा ३६ हजार ९७०, बझाङमा ३६ हजार ७१५ र डडेल्धुरामा नौ हजार ४७० नागरिकले स्वास्थ्य बीमा गरेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts