स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी पर्व मनाउन स्वास्थ्यमन्त्रीको अनुरोध
काठमाडौं, १४ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले तमु ल्होसारका अवसरमा शुभकामनासहित मनाउने क्रममा सावधानी अपनाउन आग्रह गरेका छन्।
तमु ल्होसारको पूर्वसंन्ध्यामा आज साँझ विज्ञप्ति जारी गर्दै उनले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको बढ्दो त्रासबीच ल्होसार मनाउने क्रममा सजग र सावधान रहन आग्रह गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा केही वर्ष यता भित्रिएको र महामारीको रुपमा विश्वलाई ज्यादै दुःख दिएको कोरोना अर्थात कोभिड १९ नियन्त्रणमा विभिन्न प्रयास गर्दै आएकाले यसको प्रभाव पछिल्लो समय निकै कम पार्न हामी सफल भएको उनको भनाइ छ।
तर पनि पछिल्लो पटक यसको तेस्रो लहरको रुपमा ओमिक्रोन नामक नयाँ भाइरसको उत्पत्तिले फेरि एकपटक झस्काएको र नेपालमा एकाधलाई यो भाइरस देखिए पनि सबैको साझा प्रयासले अहिलेसम्म नियन्त्रणमा लिन सफल भएको मन्त्री खतिवडाले उल्लेख गरेका छन्।
त्यसैले खासगरी चाडपर्वका नाममा हुने भिडभाड कम गरेर रोग फैलनबाट रोक्नु जरुरी भएकाले स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन उनले सबैसँग अनुरोध गरेका छन्।
उनले विज्ञप्तिमा स्वदेश तथा संसारका जुनसुकै कुनामा रहेका आम तमु (गुरुङ) समुदायको नयाँ वर्ष अर्थात २६०६ औं तमु ल्होसारको पावन अवसरमा गुरुङ समुदायका आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु भनेर उल्लेख गरेका छन्।