प्रदेश तथा स्थानीय स्तरमा स्वास्थ्य नीति कार्यन्वयनमा चुनौति

काठमाडौं,१४ पुस । सरकारले बनाएका स्वास्थ्य नीतिहरु संघीय तथा स्थानिय स्तरमा कार्यन्वयनमा चुनौति देखिएको छ ।
बुधबार स्वास्थ्य नीति निर्माणमा वकालत गर्दै आइरहेको संस्था सामाजिक परिवर्तन केन्द्रले संघीय संरचनामा स्वास्थ्य नीति बिषयमा गरेको छलफलमा स्वास्थ्यमा बनेका विभिन्न नीतिहरु कार्यन्वयनमा समस्या आएको बताइएको हो ।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभागिय प्रमुख डा.तारानाथ पोख्रेलले संविधानमा आधारभुत स्वास्थ्य सबैले निशुल्क पाउने साथै आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित हुनुनपर्ने भएपनि सबै ठाउँहरुमा उक्त कुरा पुर्याउन समस्या हुने गरेको बताए ।
उनले कतिपय नागरिकहरुको आकांक्षा धेरै भएको र त्यो पुरा हुन नसँक्दा उनीहरुको असन्तुष्टि हुने गरेको बताए ।
त्यस्तै अहिले केन्द्रबाट भन्दापनि धेरै जति बजेट र कार्यक्रमहरु प्रदेश र स्थानिय तहहरुमा हुने गरेको उनले बताए ।
प्रदेशहरुले अस्पताल सुधारका कामहरु गरिरहेको साथै आकस्मिक सेवा,उद्वारका कामहरु गरिरहेको पनि उनले बताए ।
त्यस्तै संघीयता हुनुभन्दा अगाडी स्वास्थ्य क्षेत्रमा भएका उपलब्धिहरुलाई जोगाउन गाह्रो भएको,स्वास्थ्यलाई सर्वब्यापी पहुचमा पुर्याउन कठिनाई भएको,स्रोत र साधनको कमी भएको,विशिष्टिकृत र विशेषज्ञ सेवा प्रदान गर्ने जनशक्ति कमी भएको,स्वास्थ्य प्रणाली नहुँदा स्वास्थ्यका तथ्यांक संकलनमा समस्या भएको,जवाफदेहिता नभएको आदी चुनौतिहरु रहेको उनले बताए ।
उनले आगामी दिनमा प्रभावकारी समन्वय गर्ने,देश भित्रका स्रोत र साधनहरु बढाउने,जनशक्ति उत्पादन गर्ने र उत्पादित जनशक्तिलाई स्वदेशमा नै बस्ने वातावरण बनाउने जस्ता कार्यक्रमहरु पनि गर्ने बताए ।
कार्यक्रममा स्वास्थ्यमा बनेका नीति तथा कार्यक्रमहरुको बारेमा छलफल भएको थियो ।