सेती अस्पतालले घरबाटै टिकेट काट्न सकिने व्यवस्था गर्दै
धनगढी, १३ पुस । सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचारका लागि घण्टौंसम्म लाइन लाग्नुपर्ने बाध्यता कायमै छ। अस्पतालमा टिकेट घर, बहिरंग सेवा, प्रयोगशाला र फार्मेसीमा सबैभन्दा बढी लाइन लाग्नुपर्ने बाध्यता छ।
सोही समस्यालाई निराकरण गर्न तथा उपचार सेवालाई सहज बनाउनका अस्पतलालले अनलाइनबाटै टिकट काट्न सक्ने प्रणाली जडान गरेको छ। तर कर्मचारी अभावले उक्त प्रणाली सञ्चालनमा आएको छैन। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला इञ्चार्ज रमेश शाहीले सफ्ट्वयर पूर्ण कार्यान्वयनमा नआएकाले समस्या भएको बताए। अस्पतालले अन्य विभागमा जडान गरेको प्रणाली प्रयोगशालामा पनि जडान हुने उनले बताए।
अस्पतालले ४ लाख बढी रकम खर्च गरेर गत साउनमा मेडिफोलोर प्रणाली जडान गरेको थियो। प्रादेशिक अस्पतालको आर्थिक, प्रशासनिकसँगै विरामीको विवरण, खाली रहेका श्यया, सेवामा रहेका विरामी तथा विरामीका लागि आवश्यक सेवा लगायतका विवरण उक्त प्रणालीमा राखिएको हुनुपर्ने हो। तर उक्त प्रणाली अझै पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले अस्पतालको टिकट घरसहित प्रयोगशाला, ओपीडी र फार्मेसीमा पनि सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यता कायमै छ। उक्त प्रणाली पूर्ण रुपमा सञ्चालन भए सेवाग्राहीले घरबाटै इसेवा र खल्ती एपबाट टिकट काट्न सक्नेछन्।
अनलाइनमार्फत टिकट काटेपछि उपचार सेवा पाउनका लागि पनि निश्चित समय तोकिने छ। यसले सेवाग्राहीले अस्पतालका हर विभागमा लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ। तर उक्त प्रणाली पूर्ण रुपमा सञ्चालन नहुँदा सबैभन्दा बढी प्रयोगशालामा तीन पटकसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले २०७८ साउनदेखि उक्त प्रणाली जडानको प्रक्रिया सुरु गरेको बताए।
‘हामी डाटाबेसमा गएका छांै। साउनबाट सुरु गरेका थियौ, ल्याबका मेशिनहरुमा जडान गर्नुपर्ने भएकाले समय लागेको हो। यो महिनाको अन्तिमसम्म ल्याबमा पनि जडान हुन्छ,’ उनले भने।
उक्त सेवा सञ्चालनका लागि अस्पतालसँग कर्मचारीको पनि अभाव देखिएको छ। कम्प्युटर अपरेटर नहुँदा सेवा सञ्चालनमा समस्या भएको बताइएको छ। ‘यो प्रणाली पूर्ण लागूभए घरबाटै टिकट काट्न सकिन्छ। हामी बिस्तारै सेवा सुचारु गर्दै जान्छौ। तेस्रो चरणमा ओपीडीमा प्रणाली जडान गर्छाै,’ श्रेष्ठले भने। सेती प्रादेशिक अस्पतालबाट सुदूरपश्चिमका २८ लाख जनसंख्याले स्वास्थ्य सेवा लिँदै आएका छन्।