फाइजर खोपलाई चाहिने घोलक भोलि ल्याइने
काठमाडौं, १३ पुस । सरकारले उपत्यकाका तीनसहित आठ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई १३ पुस (आज) देखि कोभिडविरुद्धको फाइजर खोप दिने घोषणा गरेको भए पनि अन्तिम समयमा आएर स्थगित गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने सिरिञ्जको अभावमा पूर्वनिर्धारित खोप कार्यक्रम स्थगित गरेको बताए पनि सिरिञ्ज भन्दा पनि फाइजर खोपको ‘घोलक’ नआइपुगेको कारण खोप कार्यक्रम स्थगित भएको बताइएको छ।
यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सिरिञ्ज (०.३ एमएल वाला) अभावका कारण फाइजर खोप अभियान स्थगित गरिएको थियो।
तर विभागकै आपूर्ति व्यवस्थापन शाखाले भने अभाव भएको भनिएको सिरिञ्ज भन्दा पनि घोलक नआइपुग्दा खोप कार्यक्रम रोकिएको बताएको छ। र सो घोलक पनि भोलि आइपुग्ने बताएको छ।
शाखाका बरिष्ठ फार्मेसी अधिकृत बढेबाबु थापाका अनुसार शुक्रबार आएको ६ लाख ६४ हजार ६५० डोज फाइजर खोपलाई पुग्ने घोलक भोलि आइपुग्ने बताए। ‘शुक्रबार आएको फाइजर खोपको घोलक बल्ल भोलि आउने तालिका छ ‘ उनले भने।
के हो यो घोलक ?
फाइजर खोप लगाउनु अघि पातलो बनाउनु पर्ने हुन्छ। जसलाई सोडियम क्लोराइड भएको घोलक प्रयोग गर्नुपर्ने हुन्छ । फाइजर खोपका लागि प्रतिभाइल १.८ मिलिलिटर ०.९ प्रतिशत घोलक हाल्नुपर्ने हुन्छ।
यस अघि शुक्रबार खोप आए पनि त्यसलाई पालतो बनाउने घोलक नआएको हुँदा रोकिएको हो। सोडियम क्लोराइड भएको घोलकलेखोपको बाक्लोपन केही मात्रा घटाउने, रसायनहरूको सन्तुलन मिलाउने र खोपको प्रभावकारिता बढाउने काम समेत गर्छ।