स्वास्थ्य मन्त्रालयद्वारा नेपालमा दश वर्षभित्र आवश्यक पर्ने जनशक्तिको विवरण माग
काठमाडौं, ८ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रमा रहेका पेशागत तथा विषयगत संघसंगठनहरुलाई नेपालमा दश वर्षभित्र आवश्यक पर्ने जनशक्तिको विवरण सहितको सुझाव दिन आग्रह गरेको छ।
मन्त्रालयले स्वास्थ्यका ४३ वटा संगठनलाई पत्र पठाउँदै स्वास्थ्य जनशक्तिको आँकलनमा सुझाव पेश गर्न आग्रह गरेको हो।
मन्त्रालयले हालै जारी गरेको १० वर्षे नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति अनुसार संघ र संगठनहरुसँग सुझाव माग गरेको हो। उक्त रणनीतिमा हाल नेपालमा रहेका जनशक्तिको अवस्था, स्वास्थ्य संस्थाको संख्या र अवस्था, अबको १० वर्षमा उत्पादन हुने जनशक्ति र तिनिहरुको व्यवस्थापन कसरी गर्ने लगायतका विषय छन्।
आगामी १० वर्षका लागि जनशक्तिको उपलब्धता र समतामूलक वितरण सुनिश्चित गर्न ल्याइएको रणनीति कार्यान्वयनमा लैजान सुझाव माग गरिएको मन्त्रालयले जनाएको छ।
'रणनीतिको कार्ययोजना अनुरुप स्वास्थ्य मन्त्रालयले आगामी १० वर्षको लागि नेपालम आवश्यक पर्ने स्वास्थ्य जनशक्तिको आकलनलाई वैज्ञानिक रुपमा अपडेट गर्ने तथा सोही आधारमा उत्पादन, विकास र परिचालन गर्ने योजना लिएको हुँदा यस रणनीतिको अनुसूची १ मा राखिएको स्वास्थ्य जनशक्तिको आकलन बमोजिम नेपालमा आवश्यक पर्ने स्वास्थ्य जनशक्तिको विवरण बारेमा वैज्ञानिक आधारसहित १५ दिनभित्र इमेल मार्फत राय सुझाव पेश गर्नुहुन अनुरोध छ, मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ।
यस्तो छ मन्त्रालयले संगठनहरुलाई पठाएको पत्र